काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन्। उनले भने, ‘आफूले गरेका गलत कामको बारेमा जनस्तरबाटै विरोध भएपछि सरकार जनतासँग झुक्ने परिस्थिति बनेको छ। सरकार तमाम काममा असफल भएको छ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले शुरू–शुरूमा राष्ट्रियताको बारेमा ठूला–ठूला कुरा गर्ने गरेको र सत्तामा पुगेपछि लम्पसार पर्ने गरेको आरोप लगाए। उनले भने, ‘शुरूमा ओली सरकारले राष्ट्रियताको बारेमा ठूलो कुरा गर्यो, उहाँहरुले हाम्रै काँधमा राष्ट्रियता अडेकोजस्तो गर्नुभयो। तर, अहिले लम्पसार हुनुभयो। उहाँहरुको राष्ट्रियताको चर्को नारा भनेको त सत्तामा जाने भर्याङमात्रै हो।’
कांग्रेसले अर्को निर्वाचनमा एक्लै बहुमत ल्याउने उनको दाबी छ। उनले भने, ‘हामी अब जनताको पीर, मर्कालाई आत्मसात् गर्दै अघि बढ्छौं।’ पार्टीले अब संसद र सडक दुवै ठाउँमा आफ्नो गतिशिलतालाई तिव्रता दिने र जनताका आवाज उठाउने महतको भनाई थियो।
वर्तमान सरकार नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्धमा मात्रै नभएर पूरै विदेश सम्बन्धमा असफल भएको उनको आरोप छ। उनले भने, ‘सरकारले जनतातिर फर्केर राष्ट्रियताको कुरा गर्छ, तर जुन देशसँग आफ्नो कुरा राख्नुपर्ने हो त्यो देशसँग कुरै गर्न सक्दैन। लम्पसार परेको छ। त्यसैले यो सरकार विदेश नीतिमा पुरै असफल भएको छ।’
उनले पार्टीको जारी केन्द्रिय कार्यसमिति बैठकमा नेताहरूबीच जुहारी नचलेको बरू सकारात्मक छलफल जारी रहेको स्पष्ट दाबी गरेका छन्। उनले भने, ‘महाधिवेशनको सन्दर्भमा हामी छलफलमा जुटेका छौं। महासमितिको बैठकले नयाँ विधान बनायो। अब नयाँ नियामावलीको टुँगो लगाउँछौं।’ पार्टी यतिवेला पूर्ण रूपमा महाधिवेशन केन्द्रित रहेर संगठन विस्तारको काममा जुटेको पनि उनले विश्वास दिलाए। यद्यपी, उनले पार्टीभित्रबाट भोलि नै महाधिवेशन गर्नुपर्यो लौ चाहियो भनेर कसैले नभनेको जिकिर गरे।
उनले केन्द्रिय कार्य समितिले बैठकले छिटोभन्दा छिटो अन्तरिम संरचना टुङ्गो लगाउने स्पष्ट पारे। उनले भने, ‘अन्तरिम संरचनाले क्रियाशिल सदस्यता वितरण गर्छ। क्रियाशिल सदस्यताको टुङ्गोे लागेपछि प्रारम्भिक मतदाताको सुचि तयार भएपछिमात्रै महाधिवेशनको मिति, कार्यतालिका तय हुन्छ।’ महाधिवेशन गर्ने विषयमा पार्टीभित्र खासै विवाद नरहेको उनले जिकिर गरे।
उनले अन्तरिम संरचना पूरानैलाई समायोजन गर्ने वा नयाँ निर्वाचन गर्ने भन्नेबारे आफ्ुहरु अहिले छलफलमै रहेको सुनाए । तर, पूरानैलाई समायोजन गर्दा राम्रो हुने उनको भनाई छ। उनले भने, ‘अन्तरिम संरचनाबारे तीन दिनभित्रमा निर्णय हुन्छ।’ उनले सभापति देउवालगायत आफूहरुलाई एक दिनपनि बढी पदमा बस्न रहर र त्यस्तो रणनीति नभएको स्पष्ट पारे। बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्वमा जाने आकांक्षाले सभापति देउवामाथि आरोप लगाए पनि पार्टीभित्र तर्कपूर्ण बहस तथा छलफल गर्न नसकेको महतको टिप्पणी छ।
उनले भने, ‘सभापति देउवाजीको स्वभाव नै सबैलाई मिलाएर लैजाने हो, सहमतिमा निर्णय गर्नुहुन्छ। उहाँ कहिल्यैपनि पेलेर जानुपर्छ भनेर हिँड्नुभएन। उहाँसँग अहिलेपनि बहुमत छ। तर, उहाँले बहुमतको निर्णय लाद्नुभएन। सभापतिको स्वभाव नै सहमतिमार्फत नै अघि जाने हो।’ उनले भएकै संरचनालाई समायोजन गरेर संयोजक तोक्दै अघि बढेमा भदौभित्र अन्तरिम संरचना बन्ने विश्वास दिलाए। उनले भने, ‘र, ६ महिनाभित्र सक्रिय सदस्यको टुँगो लाग्छ, फागुनसम्म मतदाताको टुँगो लाग्छ। अनि महाधिवेशनको कार्यतालिका आउँछ।’
पार्टीको सभापति अहिलेदेखि नै बाजा बजाएर नहुने भन्दै उनले बरिष्ठ नेता रामचन्द्र पौडेलको विरोधप्रति व्यंग्य गरे। उनले भने, ‘महाधिवेशनको कार्यतालिका आएपछिमात्रै नेतृत्वमा जाने चाहना व्यक्त गर्दा हुन्छ। अहिले नै बाजा बजाएर हुँदैन। अहिलेको सभापति फेरि नेतृत्वको लागि लड्नुहुन्छ कि हुँदैन? या उहाँ किन लड्नुपर्यो भनेर अहिल्यै नै बहस चलाउन सान्दर्भिक छैन।’