धनगढी - सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले सुदूरपश्चिम प्रदेशका १० वटा एनसेलका टावरमा आगजनी गरेको छ। सो समूहले कैलाली, डोटी, डडेल्धुरा, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा आगजनी गरेको प्रहरीले जानकारी दिएकोे हो।
प्रहरीका अनुसार कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र डडेल्धुराका एक÷एक टावरमा आगजनी गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ जाली, जानकी गाउँपालिकाका वडा नम्बर २ र ४ तथा गोदावरी नगरपालिकाका वडा नम्बर ९, बल्मीमा रहेको एक टावरमा आगजनी गरिएको जानकारी दिएका छन्।
आगजनीबाट टावरमा रहेका विभिन्न उपकरण, जनेरेटर र कन्ट्रोल बक्सलगायतका सामान जलेको उनले बताए। त्यस्तै, प्रदेशकै सबैभन्दा ठूलो डडेल्धुराको काफलीगाडमा रहेको टावरमा पनि आगजनी भएको छ। अछामको विनायक नगरपालिका वडा नम्बर ३ मा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ।
एनसेलका १८ वटा टावर रहेकोे डोटीमा एउटा टावरमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ मा रहेको एनसेलको टावरमा गएराति आगजनी गरिएको हो। तर कञ्चनपुर, दार्चुला, बैतडी र बाजुरामा एनसेलका टावरमा आगजनी गरिएको विषयमा भने सूचना प्राप्त नभएको प्रहरीले जनाएको छ।