काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले ७औं पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन्। बुधबार नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराई पर्यटनमन्त्री बनेसँगै डेढ वर्षमा सातौँपटक मन्त्रिपरिषद् हेरफेर भएको हो।
नेता भट्टराई प्रधानमन्त्री ओलीका २४औं सारथीको रुपमा आएका छन्। त्यति मात्रै होइन स्व.रवीन्द्र अधिकारीले अघि सारेका विकास निमार्णका कामहरू सम्पन्न गर्नुपर्ने छ। यहाँभन्दा पहिले उनी पार्टीको नेता मात्रै थिए। अब उनी आम नागरिकको करबाट पालिनु पर्ने र जनताका बारेमा काम गर्नुपर्ने स्थानमा पुगेका छन्।
को हुन् योगेश भट्टराई ?
योगेश भट्टराईको जन्म २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा बुबा स्व.भिमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट भएको हो। उनले अखिलमा विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा बसेर काग गरेका थिए। भट्टराई २०३६ सालको विद्यार्थी आन्दोलनबाट वाम राजनीतिमा प्रवेश गरेका हुन्।
भट्टराईले स्कुल पढ्ने बेला झापा विद्रोहको समय थियो। ताप्लेजुङलगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि स्कुल पढ्ने समयमै वामपन्थी राजनीतिप्रति झुकाव बढ्यो। परिवारका सदस्यहरु पनि वामपन्थी पृष्ठभूमीकै थिए।
उनी २०४० सालमा पञ्चायत विरोधी आन्दोलनका क्रममा केन्द्रीय कारागारमा पहिलो पटक जेल परेका थिए। २०४१ सालमा इलामको महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति पदमा निर्वाचित भएका भट्टराई २०४६ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भएका थिए। त्यसपछि भट्टराई कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भए।
२०६२/६३ को जनआन्दोलनमा एमाले काठमाडौँ उपत्यका कमिटीको सचिव, २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को संस्थापक महासचिव, २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा एमालेको आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र नवौँ महाधिवेशनबाट एमालेको सचिव पदमा निर्वाचित भएका थिए।
पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौँबाट पराजित भएका उनी गएको प्रतिनिधिसभमा निर्वाचनमा भने ताप्लेजुङबाट भारी मतका साथ विजयी भएका थिए।
भट्टराईले समाजशास्त्र र मानवशास्त्र विषयमा एमए उत्तीर्ण गरेका छन्। उनले भारत, चीन, अमेरिका क्युबा, दक्षिण अफ्रिका, बेल्जियम, पोर्चुगल, जर्मनी, लक्जम्बर्ग, फ्रान्स, बेलायत, जापान, कोरिया, मलेसिया, सिंगापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड, चेक रिपब्लिक, अस्ट्रिया, रुस, ब्राजिल, कतार, साउदी अरब, दुबई, बहराइन, साइप्रसलगायत देशको भ्रमण गरिसकेका छन्।
मन्त्री हेरफेरका कारण र चरण
गत वर्ष २०७५ फागुन १५ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी अधिकारीको निधन भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै लिएका थिए। २०७४ चैत २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेथिए। त्यतिबेला तेस्रो पटकको विस्तारमा एकसाथ ११ जना मन्त्री बने।
प्रदिप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, स्व.रवीन्द्र अधिकारी पर्यटन, रघुवीर महासेठले भौतिक पूर्वाधार, शेरबहादुर तामाङ कानुन, जगत विश्वकर्मा युवा तथा खेलकुद, वर्षमान पुन ऊर्जा तथा जलस्रोत, गिरिराजमणि पोखरेलले शिक्षा, शक्ति बस्नेत वन, चक्रपाणि खनाल भूमिसुधार र बिना मगर खानेपानीमन्त्री बनेकी थिइन।
वातावरणमन्त्री लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तेस्रो पटकको विस्तारमा पद्मा अर्याल स्वास्थ्य तथा जनसंख्या, गोकुलप्रसाद बाँस्कोटा सञ्चार तथा सूचना प्रविधि, धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्यन र रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्रीको रुपमा शपथ लिएका थिए।
चौथो पटकको मन्त्रिपरिषद् विस्तारमा उपेन्द्र यादव स्वास्थ्य तथा उपप्रधानमन्त्री बने। यादव उपप्रधानमन्त्री बनेसँगै रक्षामन्त्री पोखरेललाई समेत उपप्रधानमन्त्रीमा बढुवा गरिएको थियो। चौथो पटकको विस्तारमा मो.इस्तियाक राई शहरी विकासमन्त्री बने भने गोकुल बाँस्कोटा राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका थिए।
२०७५ साउन १८ गते प्रधानमन्त्री ओलीले पाँचौ पटक मन्त्रिपरिषद्मार हेरफेर गरेका थिए। त्यो बेला शेरबहादुर तामाङले राजीनामा दिएपछि भानुभक्त ढकाल मन्त्री बनेका थिए।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तामाङले राजीनामा दिएका थिए। पाँचौ विस्तारमा प्रधानमन्त्री ओलीले पद्मा अर्याललाई स्वास्थ्य राज्यमन्त्रीबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा बढुवा गरेका थिए।
छैटौं र सातौं हेरफेर भने हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि भएको देखिन्छ। २०७५ फागुन १५ गते अधिकारीको निधन भएपछि पर्यटनमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीले आफैं लिए। अधिकारीको निधन भएको चार महिनापछि योगेश भट्टराइलाई पर्यटनमन्त्री बनाएर ओलीले बुधबार सातौं पटक मन्त्रिपरिषद् हेरफेर गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका २४ सारथि
उपप्रधानमन्त्री,
ईश्वर पोखरेल - रक्षा, उपेन्द्र यादव-स्वास्थ्य तथा जनसंख्या मन्त्री।
मन्त्री
रामबहादुर थापा- गृह, प्रदीपकुमार ज्ञवाली-परराष्ट्र, योगेश भट्टराई-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, गिरिराजमणि पोखरेल- शिक्षा, विज्ञान तथा प्रविधि,बर्षमान पुन-ऊर्जा, जलस्रोत तथा सिँचाई, रघुबीर महासेठ-भौतिक पूर्वाधार तथा यातायात, गोकर्ण विष्ट-श्रम, रोजगार, तथा सामाजिक सुरक्षा भानुभक्त ढकाल-कानुन, न्याय, तथा संसदीय मामिला लालबाबु पण्डित-सङ्घीय मामिला तथा सामान्य प्रशासन, मातृकाप्रसाद यादव-उद्योग, वाणिज्य तथा आपूर्ति, चक्रपाणी खनाल-कृषि तथा पशुपंक्षी विकास, थममाया थापा-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शक्तिबहादुर वस्नेत-वन तथा वातावरण, युवराज खतिवडा-अर्थ, मोहम्मद इश्तियाक राई-सहरी विकास जगतबहादुर विश्वकर्मा-युवा तथा खेलकुद,गोकुलप्रसाद वाँस्कोटा-सञ्चार तथा सूचना प्रविधि, बीना मगर-खानेपानी, पद्माकुमारी अर्याल - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।
राज्यमन्त्री
धनबहादुर बुढा - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रामकुमारी चौधरी स् कृषि तथा पशुपंक्षी विकास, सुरेन्द्रकुमार यादव - स्वास्थ्य तथा जनसंख्या मन्त्री छन्।
तस्वीर: कृष्ण पौडेल