काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले ७ औं पटक मन्त्रिपरिषद्मा हेरफेर गरेका छन्। बुधबार योगेश भट्टराई पर्यटनमन्त्री बनेसँगै डेढ वर्षमा सातौँपटक मन्त्रिपरिषद् हेरफेर भएको हो।
गत वर्ष २०७५ फागुन १५ गते तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी अधिकारीको निधन भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले नै लिएका थिए।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धन ९तत्कालीन एमाले र माओवादी केन्द्र० ले बहुमत प्राप्त गरेपछि फागुन ३ गते ओली प्रधानमन्त्री बनेका थिए।
प्रधानमन्त्री ओलीले शपथ लिए लगत्तै शीतल निवासमा लालबाबु पण्डित र थममाया थापालाई मन्त्रिपरिषद् सदस्यको रुपमा शपथ गराएका थिए। पण्डितलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो भने थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय।
२०७४ फागुन १४ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको थियो। ईश्वर पोखरेल, युवराज खतिवडा, रामबहादुर थापा बादल र मातृका यादव मन्त्री बनेका थिए। ओलीले पोखरेललाई रक्षा, खतिवडालाई अर्थ, बादललाई गृह र यादवलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिए।
तेस्रो विस्तार ११ मन्त्री
२०७४ चैत २ गते प्रधानमन्त्री ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरे। तेस्रो पटकको विस्तारमा एकसाथ ११ जना मन्त्री बने।प्रदिप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, स्व।रवीन्द्र अधिकारी पर्यटन, रघुवीर महासेठले भौतिक पूर्वाधार, शेरबहादुर तामाङ कानुन, जगत विश्वकर्मा युवा तथा खेलकुद, वर्षमान पुन ऊर्जा तथा जलस्रोत, गिरिराजमणि पोखरेलले शिक्षा, शक्ति बस्नेत वन, चक्रपाणि खनाल भूमिसुधार र बिना मगर खानेपानीमन्त्री बने।
वातावरणमन्त्री लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो। तेस्रो पटकको विस्तारमा पद्मा अर्याल स्वास्थ्य तथा जनसंख्या, गोकुलप्रसाद बाँस्कोटा सञ्चार तथा सूचना प्रविधि, धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्यन र रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्रीको रुपमा शपथ लिए।
चौथो पटकको मन्त्रिपरिषद् विस्तारमा उपेन्द्र यादव स्वास्थ्य तथा उपप्रधानमन्त्री बने। यादव उपप्रधानमन्त्री बनेसँगै रक्षामन्त्री पोखरेललाई समेत उपप्रधानमन्त्रीमा बढुवा गरिएको थियो। चौथो पटकको विस्तारमा मो।इस्तियाक राई शहरी विकासमन्त्री बने भने गोकुल बाँस्कोटालाई राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गरियो।
२०७५ साउन १८ गते प्रधानमन्त्री ओलीले पाँचौ पटक मन्त्रिपरिषद्मा हेरफेर गरे। शेरबहादुर तामाङले राजीनामा दिएपछि ढकाल मन्त्री बनेका हुन्। बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तामाङले राजीनामा दिएका थिए। पाँचौ विस्तारमा प्रधानमन्त्री ओलीले पद्मा अर्याललाई स्वास्थ्य राज्यमन्त्रीबाट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा बढुवा गरे।
छैटौं र सातौं हेरफेर भने हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि भएको देखिन्छ। २०७५ फागुन १६ गते अधिकारीको निधन भएपछि पर्यटनमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री ओलीले आफैं लिए। अधिकारीको निधन भएको चार महिनापछि योगेशलाई पर्यटनमन्त्री बनाएर ओलीले बुधबार सातौं पटक मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। यो समाचार अन्नपूर्णपोष्टले छापेको छ।