विराटनगर - संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच मोरङमा समायोजन भएको छ । मंगलबार भएको समायोजनपछि बनेको समाजवादी पार्टी नेपालको मोरङ अध्यक्षमा राजकुमार यादवलाई चयन गरिएको छ । १ सय १५ सदस्यीय समाजवादी पार्टी मोरङको चार जना उपाध्यक्षहरूमा केशरमान गुरुङ, तीर्थराज घिमिरे, नवराज दाहाल र त्रिलोचन गौतमलाई चयन गरिएको छ ।
९ सदस्यीय अन्य पदाधिकारीहरूमा सचिव रछामी किराँती, सहसचिवद्वय ओम ढकाल र मन्तलाल यादव तथा कोषाध्यक्षमा महेश्वर यादव रहेका छन् । यसैगरी सदस्यहरूमा विजयसिंह गन्गाई, कमला साह, हरि न्यौपाने र डिएगो चेम्जोङलगायत छन् । समायोजनपछि नयाँ नेतृत्वको अध्यक्षताको जिम्मेवारी पाएका यादवलाई समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव पर्शुराम बस्नेतले शपथग्रहण गराए ।
लगत्तै अध्यक्ष यादवले जिल्ला समितिका अन्य पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराए । कार्यक्रममा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य जयराम यादव, केन्द्रीय सदस्य तेजलाल कर्ण, नयाँ शक्तिका प्रदेश संयोजक प्रभुराम श्रेष्ठ र संघीय समाजवादी फोरम नेपालका प्रदेश संयोजक प्रवीण चाम्लिङलगायतले पार्टीको सिद्धान्त र आफ्ना एजेण्डाहरू जनताको घरघरमा पुगेर स्थापित गर्न सहभागी पार्टी पदाधिकारी तथा कार्यकर्तालाई आग्रह गरे ।