काठमाडौँ - सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता तथा राज्यसभा सांसद डा. सुब्रमन्यम स्वामीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग गरेका छन्। उनले नेपालको भौगोलिक अवस्था र इतिहासले गर्दा, साथै भारत र चीनसमेत यस विषयमा सकारात्मक रहेको दाबी गर्दै नेपाल हिन्दु राष्ट्र हुनुपर्ने जिकिर गरे।
उनले काठमाडौँमा विश्व हिन्दु महासंघ र विश्व हिन्दु परिषदले संयुक्त रुपमा आयोजना गरेको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा त्यस्तो भनाइ राखेका हुन्।
एक दिने भ्रमणमा नेपाल आएका स्वामीले शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन्। करिब ३० मिनेट भएको उक्त भेटवार्तामा नेपाल–भारतको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको स्वामीले जानकारी दिएका छन् । शनिबार उनले पशुपतिनाथको समेत दर्शन गरेका थिए।