बुटवल - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले केपी ओली नेतृत्वको सरकारका सबै पखेटाहरूमा खिया लागिसकेको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्र नहुने भन्दै काम गर्ने वातावरण नरहेको बताए। उनले मन्त्रीहरू काम गर्न सक्ने अवस्थामा नरहेको टिप्पणी पनि गरे।
गुल्मीका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी फर्कने क्रममा सोमबार रिपोर्टर्स क्लबले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता डा. भण्डारीले त्यस्तो भनाइ राखेका हुन्।
उनले राष्ट्रयताका विषयमा जनतालाई देखाएको सपना अधुरो र अपूरो बन्दै गएको भन्दै जनताले उचित समयमा कारवाही गर्ने बताए। ‘ओलीजीले राष्ट्रियताका विषयमा जुन चेक दिनुभएको थियो, त्यो पाँच वर्षमा बाउन्स हुन्छ, अनि जनताले कारवाही गर्नेछन्,’ उनले भने।
नेता डा. भण्डारीले केही राष्ट्रिय मिडियाले राजनीति गर्दा गुल्मीको अवस्था थप विकराल बनेको बताउादै भने, ‘त्यहाँ कति पीडा छ, महामारीको अवस्था छ, केही व्यक्तिले हेलिकोप्टरबाट दुई जना बालिकालाई उपचारका लागि लगेको विषयले त्यहाँको वास्तविक अवस्था छायाँमा परेको छ।’
उनले बुटवल क्षेत्रसमेत पहाडमा आउने पहिरोका कारण डुबानको उच्च जोखिममा रहेको बताए। ‘पाल्पाको झुम्सा पारिका पहाडहरूमा भइरहेको उत्खनन्ले त्यहाँ पहिरो झर्ने सम्भावना उच्च छ,’ उनले भने– ‘त्यसतर्फ यस क्षेत्रका राजनीतिज्ञ सचेत हुनुपर्छ।’ कालिदासले जस्तै टुप्पोमा बसेर फेद काट्ने मुर्खताबाट बाहिर निस्कन आवश्यक रहेको उनको भनाइ थियो।