वीरगन्ज - पाठशाला वीरगन्ज स्टडी सेण्टरले आइतबार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई एउटै मञ्च प्रदान गरी ‘नेपालमा समाजवाद : एक विमर्श’ कार्यक्रम सम्पन्न गर्यो। वीरगन्जको नगरसभामा दुवै पार्टीका नेता कार्यकर्ताले खचाखच भरिएको कार्यक्रममा दुवै पार्टीका नेताहरूले नेपालमा पछिल्लो समय दलालवाद पूँजीवाद फस्टाउँदै गएको आरोप लगाए।
३७औँ बीपी स्मृति दिवस र ४१औँ पुष्पलाल स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले दुई तिहाइको सरकार आए पनि वास्तविक समाजवादको जनताले अनुभूति गर्न नसकेको बताए। ‘खोइ त परिवर्तन आएको ? प्रहरी, सेना, वित्तीय संस्था, सरकारी अड्डालगायत सबै क्षेत्रमा कमिशन, घूसखोरी छँदै छ,’ उनले भने, ‘जबसम्म राज्यका हरेक नागरिकले आत्मनिर्भरता र असल कर्तव्यबोधको महसुस गर्दैनन्, तबसम्म समाजवाद आएको परिकल्पना मात्र हुनेछ, भाषणले समाजवाद आउँदैन।’
गिरीले बीपी र पुष्पलालको सादगी जीवनले सदैव वास्तविक समाजवादको परिकल्पना गरेकाले उनीहरूले देखाएको बाटोमा अब आउने नयाँ पुस्तालाई समाजवाद ल्याई देशको कायापलट गर्न आग्रह गरे।’ नेपालमा एक दिन समाज आएरै छोडछ, छिमेकी भारत र चीनभन्दा बढी राम्रो काम गरेर नेपाल अघि बढनेछ, तर त्यसका लागि स्थानीय स्तरमा जनता मजबुत हुनुपर्ने खाँचो छ। हामीले त्यही नेतालाई गाली दिन्छौँ, चोर भन्छौ, तर ५ वर्षपछि जब भोट आउँछ, तब फेरि त्यसैलाई मत दिएर सत्तामा पुर्याउँछौँ। राज्यलाई सही दिशामा लैजान जनताको भूमिका पनि उत्तिकै महत्पूर्ण छ, सबैले बुझून्’, उनले स्पष्ट पार्दै भने।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले समाजवादका लागि हरेक गलत कुराको विरोध जनाउनुपर्ने बताए। नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका भुसालले असली समाजवाद त्यो हो भने यदि तपाईंको घरमा कसैले हकअधिकार वा पार्टीमा मिच्ने कुरा गरिरहेको छ, त्यसको विरुद्ध आवाज उठाउन पनि आग्रह गरे। उनले नागरिक स्तरमा समाजवादका बारेमा छलफल चल्नुपर्छ। समाजवदको नाममा देशमा नेताहरूले दलालवादी पूँजीवादतर्फ उन्मुख हुन थालेको उनले स्पष्ट पारे।
नेता भुसालले अहिले नेताहरू लाखौँ रुपैयाँ खर्च गरेर सांसद बन्ने अनि पछि करोडौँ रुपैयाँ कमाउने परिपाटीले नेपालमा समाजवाद असम्भव भएको बताए। उनले कुनै नेताहरूले एनसेल प्रकरणमा घूस खाएका छन् भने त्यही नै दलालवाद पूँजीवादको पराकाष्ठा भएको बताए। कुनै पार्टीमा कसैको कमी कमजोरी छ भने त्यसको खुलेर विरोध गरे, दबाब सृजना गरे मात्र देश समाजवादतर्फ अघि बढ्ने उनको भनाइ थियो।
नेकपाका अर्का केन्द्रीय सदस्य राम कार्कीले आफ्नै जनताको सल्लाह र सुझावमा नीति नियम बनाए मात्र त्यस्ता नीति नियमको पालना गर्न सहज हुने विचार व्यक्त गरे। समाजवाद भनेको सबैभन्दा उत्कृष्ट मानवमैत्री व्यवस्था भएको औँल्याउँदै उनले आर्थिक सुधारका लागि चलाइएका कार्यक्रमहरू राजनीतिक भागवण्डाको कार्यक्रम भएकाले यसले जनतामा नकारात्मक सन्देश दिएको टिप्पणी गरे।
शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यवसायीकरण गर्न कुनै पनि निजी संस्था खोल्न नपाइने उनको धारणा थियो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, प्रदेश सांसद ओमप्रकाश शर्मा, जिल्ला सभापति अजय द्विवेदी, पूर्वजिल्ला सभापति जनार्दन सिंह क्षत्री, नेकपाका नेता पुरुषोत्तम पौडेल, नेकपा पर्साका इन्चार्ज अशोक राई, नेकपा पर्साका नेता नागेन्द्र चौधरी, नेकपा नेता प्रद्युम्न चौहान, पूर्व सभासद विचारी यादव, पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहानलगायतको उपस्थिति रहेको थियो।