काठमाडौँ - प्रा.डा. सुरेन्द्र केसी र पूर्वराजा ज्ञानेन्द्र शाहबीच हालै भेटवार्ता भएको छ। केही समय पहिले प्रा.डा.केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर देशको समसामयिक परिस्थितिका बारेमा छलफल गरेका थिए। त्यसपछि उनले हालै पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटको बताएका छन्।
नेपाली पब्लिक डटकमसँगको संक्षिप्त कुराकानिमा उनले भने, ‘लामो समयदेखि राजासँग भेटघाट गर्नुपर्छ भन्नेमा थिएँ। त्यसैको परिणाम स्वरुप यो भेट हो। इतिहासको कालखण्डमा राजसंस्थाले नेपाल निमार्णमा खेलेको भूमिका, वीरेन्द्रको वंशनास र त्यसपछि गणतन्त्रको आगमनका विषयमा कुराकानि भए।’
हिजो के भयो ? आज देखिएका परिदृश्यमा कसले के गरिरहेको छ ? भन्ने कुरा सबैले जानेकै विषय भएको बताउदै डा.केसीले भने, ‘राजनीतिक दल र दलका नेता कार्यकर्ता धोकेवाज हुन्, उनीहरू एउटा भन्छन्, अर्को गर्छन्। देश र जनताप्रति अनुत्तरदायी छन्। आफ्नो भलाइको लागि सब थोक गर्न तयार छन् भन्ने कुरा सबैलाई थाह नै छ।’
डा. केसी भन्छन्, ‘राजासंगको भेटमा विगतका दिनहरूमा आफूसँग राजनीतिक दलहरूले जुन कुरा भनेका थिए, जुन कदम उठाउन पुगिएको थियो। त्यो केवल राजसंस्थाको मात्रै दोष थियो भन्ने कुरामा उनी सहमत छैनन्। राजनीतिक दलहरूको पनि हात रहेको कहि न कहि अभिप्राय मैले देखेँ।’
वर्तमान राजनीतिक दल र नेताहरूले काम गर्न नसकेको स्थितिमा राजाको सक्रियता वा कुनै फरक योजनामा लागेको जस्तो केही पाउनु भयो ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘देशप्रति राजा चिन्तत छन्। विरासत बोकेको सन्तान पनि हुन्। उनी एक आइडल हुन्। नागार्जुन जंगलमा बसिरहेको अवस्थामा यसो भेटुम न भनेर भेटेको हुँ, यहाँ त पदको लागि भेट्यो पो भनेर हल्ला चलाएका छन् त।’
तपाइले राजालाई केही सुझाव दिनु भयो? भनेर सोधिएको अर्को एक प्रश्नको उत्तरमा उनले भने, ‘मैले राजाका कुरा सुने। मेरो कुरा उनले सुने। राजसंस्था अन्त्यको एक कारण शासनसत्ताका लागि छनोट गरिएका पात्र गलत परेका कारण आजको दिन आएको मेरो निष्कर्ष सुनाएँ। आगामी दिनमा के गर्लान ? के गर्छन ? भन्नेमा कुनै पनि कुरा भएन। त्यस्तो कुनै सक्रियता छ जस्तो पनि लागेन।’