पोखरा – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कास्की सेक्रेटरी पक्राउ परेका छन्। प्रहरीले यसअघि जिल्ला सेक्रेटरीसहित केही नेताकार्यकर्ता गिरफ्तार गरेपछि कास्कीको नेतृत्व सम्हाल्न आएका नयाँ सेक्रेटरी लोकेन्द्र विक ‘सुजन’ पनि पक्राउ परेका छन्।
पार्टीको कामको सिलसिलामा रहेका विकलाई शनिबार दिउँसो पोखरा उपमहानगरपालिका– ५, मालेपाटनबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले गिरफ्तार गरेको नेकपा स्रोतले जनाएको छ। तर प्रहरीले यसबारे केही बताएको छैन।
यसअघि तनहुँ जिल्लाको सेक्रेटरी रहेका सुजन कास्कीका सेक्रेटरी आक्रोश गिरफ्तार परेपछि भर्खरै मात्र सरुवा भएर कास्की आएका थिए। प्रहरीले आक्रोशसहित अखिल क्रान्तिकारीका २२ जना नेताकार्यकर्तालाई एकै पटक घान्द्रुकबाट गिरफ्तार गरेको थियो। गिरफ्तार परेका केही कार्यकर्ता छुटिसकेका छन् भने आक्रोशसहित ५ जना अझै हिरासतमै छन्।