काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनमा जाने विषयलाई प्रस्ट रूपमा एजेन्डामै राखे पनि कसरी जाने भन्नेमा नेतापिच्छे नै प्रस्ताव आइरहेको छ। कांग्रेसको संस्थापन पक्ष र इतर पक्षमा रहेका नेता महाधिवेशनका विषयमा सहमत भए पनि महाधिवेशनमा जानका लागि आवश्यक पर्ने सबै संरचनाको भर्पाई कसरी गर्ने भन्नेमा भने विभाजित हुँदै आएका छन्।
संस्थापन पक्ष सहमतिमै सबै तहको संरचना बनाएर महाधिवेशनमा जानुपर्ने पक्षमा छ भने इतर पक्ष विधि र प्रक्रियाबाटै महाधिवेशनमा जानुपर्ने पक्षमा रहँदै आएको छ। तर, इतर पक्षका केही नेता भने पुरानै व्यवस्थाअनुसार पनि महाधिवेशनमा जान सकिने बताउँदै आएका छन्।
कांग्रेस विधानको धारा ७२ (४) अनुसार पार्टीका रिक्त संगठन अन्तरिम व्यवस्थाअनुसार गठन हुने व्यवस्था छ। यसरी विधानअनुसार रिक्त संरचनालाई पूर्णता दिएर मात्रै कांग्रेस १४ महाधिवेशनमा जान सक्ने देखिएको छ। गत शुक्रबारको बैठकमा समेत पार्टीको रिक्त संरचनाको भर्पाई सहमतिमा गर्ने कि निर्वाचन प्रक्रियामा जाने भन्ने विषयमा नेताहरू विभाजित थिए।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिले महाधिवेशनको मिति तय गरेरै विधि र विधानअनुसार सबै तहको संरचना बनाउनुपर्ने बताए । ‘महाधिवशन गर्ने भनेर घोकेर मात्रै हुँदैन, कहिले गर्ने हो, छिटो टुंगो लगाउनुपर्छ । त्यसपछि विधि र विधानअनुसार सबै तहको संगठन बनाएर निर्वाचनमा जानुपर्छ,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।
उनले महाधिवेशन जपेर मात्रै पार्टी संगठन नबन्ने भन्दै आफूलाई सच्याउने कि अरूलाई झुक्याउने भन्दै नेतृत्वसँग प्रश्नसमेत गरे ।
‘महाधिवेशन त सबैले भनेका छौं । साँच्चै, आफूलाई सच्याउने कि अरूलाई झुक्याउने मात्रै हो रु’ पौडेलले नेतृत्वसँग प्रश्न गरे ।
कांग्रेसको जारी बैठकमा संस्थापन पक्षीय नेताहरूले भने सहमतिमै रिक्त संरचनालाई पूर्णता दिनुपर्नेमा जोड दिँदै आएका छन् ।
सहमहामन्त्री डा. प्रकाशशरण महतले जतिसक्दो छिटो महाधिवेशनमा जानुपर्ने अवस्था रहेको र निर्वाचनमार्फत सबै तहको संरचना बनाउँदा समय लाग्ने भएकाले सहमतिमा गए महाधिवेशनसमेत छिट्टै गर्न सकिने बताए ।‘जतिसक्दो छिटो महाधिवेशनमा जानुपर्ने अवस्थामा हामी छौं। निर्वाचनमार्फत सबै तहको संरचना बनाउँदा समय लाग्छ, सहमतिमा गए महाधिवेशनसमेत छिट्टै गर्न सकिन्छ,’ उनले भने।
सहमहामन्त्री महतले पुरानै संरचनालाई आधार मानेर समेत त्यसबाट क्रियाशील सदस्यताको टुंगो लगाएर महाधिवेशनको मिति टुंगाउन सकिने जनाए । तर, के कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिमा छलफल जारी रहेको र छिट्टै निष्कर्षमा पुगिने उनले जानकारी दिए ।
तर, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने रिक्त संरचनालाई कसरी पूर्णता दिने भन्ने विषयमा पहिले पार्टीका पदाधिकारीको स्पष्ट धारणा आउनुपर्ने बताउँदै आएका छन् । बैठकमा संस्थापन इतर मानिने केन्द्रीय सदस्य धनराज गुरुङले भने छुट्टै प्रस्ताव गरेका छन् । उनले केन्द्रीय समिति बैठक सकिएलगत्तै पुरानै २ सय ४० निर्वाचन क्षेत्रलाई आधार बनाएर क्रियाशील सदस्यता वितरण गर्नुपर्ने र महाधिवेशनको मिति तय गर्नुपर्ने धारणा राखेका हुन्।
सिटौला समूहका केही नेताले शीर्ष नेताले भने केन्द्रमा सहमति गरेर तल्लो तहमा समिति बन्न नसक्ने जनाउँदै आएका छन्।उनीहरूले सहमति गरे पनि प्रक्रियामै गएर गर्नुपर्ने बताउँदै आएका हुन्। केन्द्रीय समिति बैठक ९आज० आइतबार १ बजे पुनः बस्दै छ ।