चितवन, ४ माघ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले सरकार ठीक बाटोमा आउँदैन भने ठिक ठाउँमा ल्याउन कांग्रेस कम्मर कसेर अगाडि बढ्ने बताएका छन्।
प्रेस युनियन चितवनद्वारा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले जनताका समस्याहरुको समाधानमा कांग्रेसले आवाज बुलन्द गर्ने उद्घोष गरे।
नेता पाैडेलले भने, जनताका आवाजलाई सधैँ दवाउन सकिदैँन, देशका समस्यामा लापरवाही गर्न पाइँदैन र त्यसका लागि प्रतिपक्षले भूमिका निर्वाह गर्छ।
नेता पौडेलले देशका समस्यामा लापरवाही भए जनताले पनि आफ्नो तर्फबाट आवाज उठाउने र सरकारलाई सही बाटोमा हिँडाउन बलपूर्वक प्रयास गरिने बताए।
सबै जनताले समान रूपमा स्वास्थ्य सुविधा पाउनुपर्छ भन्ने डा. गोविन्द केसीका मागप्रति सरकारले बेवास्ता गरेको बताउँदै पाैडेलले भने, दूरदराजमा रहेका जनतालाई पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनुपर्छ।
[caption id="attachment_6519" align="alignnone" width="900"]
वरिष्ठ नेता रामचन्द्र पाैडेल।[/caption]
संविधानले समाजवाद उन्मुख व्यवस्था भनेको छ। त्यो अनुरुप सबै विपन्न जनताले सेवा पाउनुपर्छ भन्ने डा. केसीको मागलाई सरकारकाले वेवास्ता गरेको बताउँदै पाैडेलले सरकारको यो कदम संविधान विपरीत भएको दावी गरे।
गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई पनि सरकारले लगभग विघटन गर्न लागेको बताए।
उनले भने, सरकार दुई वटा अस्पताल खारेजी गर्न उन्मुख हुँदैछ, वाइड बडी, सुनकाण्डजस्ता अनगिन्ती भ्रष्टाचारका श्रृंखला बढिरहेका छन्, तर सरकार यस्ता घटनाको ढाकछोप गर्न लागेको छ।
पार्टीभित्रको विवादका सम्बन्धमा नेता पौडेल पार्टीभित्र केही कुरामा फरक मत भई नै रहने बताए। उनले भने, केही कुराहरु नेतृत्वको गतिविधिलाई मन नपरेको हुन सक्छ। ती विवाद हुँदाहुँदै पनि पार्टी लोकतन्त्र, राष्ट्रियता र सुशासनको सवालमा एक भएर अघि बढ्छ।
महासमिति बैठकले एकताको सन्देश दिएको बताउँदै नेता पाैडेलले भने, यो कुरा पार्टी तल्लो तहसम्म पुग्नुपर्छ, लोकतन्त्र र मुलुकको रक्षा गर्नु कांग्रेसको दायित्व हो।
लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्नेमा पाैडेलले जोड दिएका छन्।