काठमाडौँ - नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्या प्रकरणका बारेमा दिएको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण र भत्स्रनायुक्त भएको भन्दै दलले गृहमन्त्रीको राजीनामा माग गरेको हो।
निर्मलाको बलात्कारपछि भएको हत्या घटनाको एक वर्ष पुगेको दिन तरुण दलले विज्ञप्ति जारी गरेर गृहमन्त्री थापालाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर जनतासँग माफी माग्न र पदबाट राजीनामा दिन माग गरेको हो।
‘यसअघि प्रधानमन्त्रीले न्याय पाउन १२ वर्ष लाग्छ भनेर भन्नू र अहिले गृहमन्त्रीले सञ्चारकर्मीसँगको कुराकानीमा ‘निर्मला हत्याकाण्ड नौलो नभएको र यस्ता घटनाहरु भइरहन्छन् र भइरहने’ जस्तो अति नै अमानवीय, गैरजिम्मेवार र निकृष्ट ढंगले अभिव्यक्ति दिएका छन्, तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, नेपाल तरुण दल गृहमन्त्रीलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिन, जनतासँग माफी माग्न र पदबाट राजीनामा दिन जोडदार माग गर्दछ।’
निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा हुँदा पनि सरकारले दोषी पत्ता लगाएर पीडित परिवारलाई न्याय दिन नसकेको भन्दै तरुण दलले सरकारको आलोचना गरेको छ। सरकारले दोषी पत्ता लगाएर निर्मलाको परिवारलाई न्याय दिनुको सट्टा सरकार निर्दोषलाई फसाएर दोषीको संरक्षणमा उत्रिएको तरुण दलको आरोप छ।