बुटवल – कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा उपप्रमुखले नगर प्रमुखविरुद्ध मुद्दा दर्ता गराएकी छन्। उपप्रमुख लक्ष्मी गुप्ताले नगरप्रमुख किरन सिंह र प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यलाई विपक्षी बनाई रिट हालेकी हुन्।
उपप्रमुख गुप्ताले पाचौँ नगरसभामा आफ्नो असहमति हुँदा जवरजस्ती नगरसभा गराएको भन्दै नगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गराएकी हुन्। ‘नगरपालिका प्रमुखले अधिकार क्षेत्र मिचेर नगरसभा गर्नुभयो। त्यसको विरुद्धमा मुद्दा हालेकी हुँ,’ उनले भनिन्, ‘बजेटदेखि हरेक कुरामा अधिकारबाट बन्चित हुँदा कति सहेर बस्ने?’
प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने आफूलाई आधिकारिक रूपमा मुद्धाको विषयमा जानकारी नभएको बताए। ‘नगरसभाको बैठकमा उपप्रमुख ज्यू आउनुभएको थिएन। अन्य कुरा मलाई जनाकारी छैन्,’ नेपाली पब्लिकसँग कुराकानी गर्दै उनले भने, ‘तर मुद्दाको विषयमाा हल्ला सुनेको छु।’
उपप्रमुख गुप्ताले असार १८ को बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेकी थिइन्। नगरपालिकाका सूचना अधिकारी पदमराज श्रेष्ठका अनुसार उनले आफू नगरकार्यपालिकाको बोर्ड बैठक, नगरसभालगायतको निर्णय प्रक्रियामा सहभागि नहुने भनेर माइनोटमा ‘नोट आफ डिसेन्ट’ लेखेकी थिइन् ।
उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा दायर गरिएको मुद्दामा अदालतले साउन १५ गतेका लागि दुबै पक्षलाई बोलाएर छलफलका लागि पेशीसमेत तोकेको छ। विगत केही महिनादेखि कपिलवस्तु नगरपालिकामा नगर प्रमुख र नगर उपप्रमुखबीच क्षेत्राधिकारका विषयमा विवाद चलिरहेको थियो। विवाद बढ्दै मुद्दा दायरको स्थितिमा पुगेको हो।
उपप्रमुख गुप्ताले आफुलाई संविधानले दिएको विशेष अधिकारलाई मिचेर प्रमुख सिंह अगाडि बढेको आरोप लगाएकी छन्। स्थानीय सरकार संञ्चालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपप्रमुख वा उपाध्यक्ष हुनुपर्ने कानुनी व्यवस्था रहेको छ।