काठमाडौं, ४ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उठेका प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद र सुशील कोइरालाका नाममा रहेका दुई अस्पताल मास्ने वा समाप्त पार्ने सरकारको कुनै उद्देश्य नरहेको बताएका छन्।
कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले सोधेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले आफूले यी दुई अस्पतालका सम्वन्धमा कांग्रेसका नेतासँग छलफल गरिरहेको बताए।
उनले भने, ‘सुशील कोइरालाको नामसँग जोडिएको बाँकेको अस्पतालमा केही विवाद रहेको र त्यसलाई समाधान गरी कसरी अघि बढाउने भन्नेमा सरकार सचेत छ।’
यसैगरी गिरिजाप्रसाद कोइरालाको नाममा तनहुँमा रहेको अस्पताल श्वासप्रश्वासमा मात्रै चल्न नसक्ने देखिएकाले त्यसलाई राम्रोसँग चल्ने गरी कसरी अघि बढाउने भन्ने सम्बन्धमा आफूले छलफल अघि बढाएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्दै भने, ‘ती दुई अस्पताल मास्ने वा समाप्त पार्ने सरकारको कुनै योजना छैन।’
प्रतिनिधिसभामा आज संसद् नियमावलीअनुसार पहिलोपटक प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम शुरु भएको हो।