बुटवल - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुषालले स्कुल विभागको जिम्मेवारी नवौँ महाधिवेशनदेखि नै आफूले माग गरेको बताएका छन्। लुम्बिनी प्रेस क्लबले बिहीवार भैरहवामा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता भुषालले नवौँ महाधिवेशनपश्चात अध्यक्ष केपी ओलीसँग आफूले स्कुल विभागको जिम्मेवारी माग गरेको बताएका हुन्।
नेता भुषालले स्कुल विभागमा आफ्नो दाबी स्वाभाविक भएको समेत दाबी गरे। उनले भने, ‘स्कुलचाहिँ त्यहाँ हामीले पढाउने माक्र्सवाद हो, पार्टीको राजनीति हो, अहिलेको समाज हो, समाजको अर्थराजनीति हो, त्यो विषयमा मैले गरिनै राखेको छु। मेरो सबैभन्दा बढी लगाव यसैमा छ।’
उनले अब पनि पार्टीमा छलफल नगरी गुटबन्दीका हिसाबले निर्णय भयो भने यसको प्रतिरोध गर्ने चेतावनीसमेत दिए। ‘स्कुल विभागमा जसलाई ल्याए पनि लोकतान्त्रिक पद्धतिअनुसार पार्टीभित्र छलफल गरेर निर्णय हुनुपर्छ,’ भुसालले भने। उपमहासचिव भुसालले स्कुल विभागबाहेकको जिम्मेवारी नलिने बताएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली आफैँ राखेका थिए भने भुषाललाई कुनै विभागको जिम्मेवारी दिइएको थिएन।