काठमाडौँ - नेकपामा अहिले स्कुल विभागको जिम्मेवारीका विषय खुब चर्चा चलिरहेको छ। पार्टीका शीर्ष नेता झलना खनाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, डा. बेदुराम भुसाल र राम कार्कीको नाम चर्चामा रहेको छ। यि मध्येबाट नेकपाले एक जना स्कुल विभागको जिम्मेवारी पाउने देखिन्छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान २०७५ को धारा (३१) मा ३२ विभाग रहने व्यवस्था छ। यी ३२ विभाग मध्ये १८ तत्कालीन एमाले र १४ तत्कालीन माओवादी केन्द्रले पाउने सहमति यसअघि नै नेकपामा बनिसकेको छ।
विभागमा सम्बन्धित पार्टी कमिटीका सदस्य प्रमुख र उपप्रमुख रहनेछन्। केन्द्रीय विभागमा पदाधिकारीसहित बढीमा ३५ जना, प्रदेश विभागमा पदाधिकारीसहित बढीमा २५ जना र जिल्ला तहका विभागमा पदाधिकारीसहित बढीमा १५ जना सदस्य रहने नियमावलीमा व्यवस्था छ।
अहिले कार्यविभाजन हुन लागेका केन्द्रीय विभागका ३५ जनामा तत्कालीन एमालेबाट २० जना र तत्कालीन माओवादी केन्द्रबाट १५ जना सदस्य हुने पनि नेताहरूबीच सहमति भइसकेको छ।
के गर्छ नेकपाको स्कुल विभागले ?
क. पार्टीका सिद्धान्त, कार्यक्रम र नीति अनुरूप नियमित वा आवधिक पार्टी स्कुल सञ्चालन गर्ने र त्यसका निम्ति कार्ययोजना तयार गरी कमिटी समक्ष प्रस्तुत गर्ने।
ख. पार्टी सदस्यहरूको सैद्धान्तिक–वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने।
ग. पार्टी स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरू तयार गर्ने।
घ. पार्टी स्कुलका पाठ्यक्रम तयार गर्ने, तदनुसार पाठ्यसामग्री तयार गर्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने।
ङ. प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, प्रशिक्षार्थीहरूको परीक्षा लिने तथा प्रमाणपत्र दिने र सोको अभिलेख राख्ने।
च. स्वदेश तथा विदेशका पार्टी स्कुलहरूसँग अनुभव आदान–प्रदान गर्ने।
छ. पार्टीमा एकीकृत भएका वा नयाँ प्रवेश गरेका सदस्यहरूलाई विशेष प्रशिक्षणको व्यवस्था गर्ने।