बुटवल – अदालतले मागेको धरौटी रकम बुझाउन नसकेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ ‘प्रज्ज्वलन’ कारागार चलान भएका छन्।
विष्फोटक पदार्थसम्बन्धी मुद्दामा बुधबार सुनुवाई गर्दै रुपन्देही जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले श्रेष्ठसँग चार हजार रुपैयाँ धरौटी माग गरेको थियो। श्रेष्ठलाई बुधबार नै जिल्ला कारागार रुपन्देही चलान गरिएको छ।
सोमबार मात्रै काभ्रे जिल्ला अदालतको आदेशपछि रिहा भएका श्रेष्ठलाई पक्राउ गरी रुपन्देही ल्याइएको थियो। २०७५ चैतदेखि श्रेष्ठलाई विभिन्न मुद्दामा ललितपुर, काभ्रे लगायतका जिल्ला अदालतमा पेश गरिदै आएको छ। बुटवल– २ स्थित भारतीय पेन्सन क्याम्पको शौचालयमा २०७५ साउन २८ गते साँझ बम विष्फोट भएको घटनामा अभियुक्त बनाइएका श्रेष्ठलाई बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर गराइएको हो।
उक्त बम विष्फोटको घटनामा पक्राउ परेको चन्द्रबहादुर खड्का ‘असल’सँग केही महिनाअघि अदालतले ५ हजार धरौटी माग गरेको थियो। उक्त बम विष्फोटको घटनामा विप्लवसहित, वीरजंग, शरद ओली, अमर आरसीलगायत आठ जनालाई प्रतिवादी बनाइएको छ। बुधबार रुपन्देही जिल्ला अदालतमा भएको सुनुवाईमा प्रतिवादीको तर्फबाट अधिवक्ताहरु शिव गौडेल, कृष्णप्रसाद पोखरेल, ओमप्रसाद पंगेनी र ज्ञानु केसीले बहस गरेका थिए।