काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले विपद्का बेलामा सत्ता र प्रतिपक्षी एक भएर अघि बढ्ने वातावरण बनाउन सरकारलाई सुझाव दिनुभएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको विवरण लिने र राहतका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा प्रस्तुत भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सरकारले एक्लै अगाडि बढ्न खोज्दा पीडित जनताले समयमा राहत र उद्धार पाउन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए।
“मुलुकमा यत्रो ठूला विपदबाट भयावह अवस्थामा संसदमा रहेका अरु राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्नेबारेमा सरकारले कुनै ध्यान दिएन, अहिले कति ठाउँमा खाद्यान्न पुगेको छैन, कतिले आश्रय पाएका छैनन्, पीडित जनताको अभिभावकका रुपमा काम गर्नुपर्ने सरकारले क्षतिको विवरणसमेत सङ्कलन गर्न सकेको छैन, जुन किसिमले गम्भीरताका साथ काम गर्नुपर्थ्यो, त्यो गर्न सकेन, कोशी ब्यारेजका ढोका खोल्न कूटनीतिक माध्यमबाट गर्नुपर्ने पहलमा पनि चुक्यो”, पार्टी सभापतिसमेत रहनुभएका नेता देउवाले भने।
तराई मधेशमा हुने डुबानका सम्बन्धमा भारतसँग कूटनीतिक पहल गरी स्थायी रुपमा समस्या समाधान गर्न आवश्यक पहलका लागि पनि उनले सरकारको ध्यानाकर्षण गराए। उनले भने, “सीमा क्षेत्रमा बाँधका कारण उत्पन्न समस्याका बारेमा सरकारले भारतसँग कुरा गरोस्, भारतको सुरक्षा चासोलाई हामीले सम्बोधन गर्नुपर्छ, अप्ठेरो परेको बेलामा के सरकार के प्रतिपक्ष एक भएर जनताको हितका लागि काम गर्नुपर्छ।”(रासस)