विराटनगर - प्रदेशसभाको चौथो तथा बजेट अधिवेशनको २७औँ बैठक नबस्दै स्थगन गरिएको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारणले स्थगन गर्नु परेको प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
प्रदेशसभाको बैठक कक्षको प्रवेशद्वारमा बर्षातका पानी जमेको र शौचालयको ट्याङ्की भरिएर त्यहाँको फोहर बाहिर निस्की दुर्गन्ध फैलिनुजस्ता कारणले सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनमा बैठक स्थगित गरिएको हो। बैठक स्थगनपछि प्रदेशसभा सदस्यहरु आ-आफ्ने गन्तव्यतिर लागेका थिए। प्रदेशसभाको अर्को बैठक साउन १९ गते दिउँसो १ बजे बस्ने जनाइएको छ।(रासस)