काठमाडौं, ४ माघ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सकिएलगत्तै कांग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिएका थिए।
सांसद खाँणले स्वास्थ्य मन्त्रालयले मुलुकभरका ११ ठूला अस्पताल तथा उपचार केन्द्र मन्त्रिपरिषद्मा पेश गरेको र त्यसमध्ये नौ अस्पताललाई स्वीकृत गरी कांग्रेस नेताका नाममा खुलेका दुई अस्पताल स्वीकृत नभएकामा गम्भीर ध्यानाकर्षण भएको बताए।
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा क्रमशः तनहुँको श्वासप्रश्वास र बाँकेको क्यान्सर अस्पताललाई स्वीकृत नगरेको भन्दै आपत्ति प्रकट गरे। ती दुवै अस्पताल अविलम्ब स्वीकृत गरियोस् भन्दै सांसद खाँणले दुवै अस्पतालमा हाल उपचार भइरहेको र जमीनको व्यवस्था भइसकेकोसमेत जानकारी गराए।
उनले स्व. गिरिजाप्रसाद कोइरालाले मुलुकको शान्ति प्रक्रियामा गरेको योगदान र सुशील कोइरालाले संविधान जारी गर्दा गरेको योगदानको चर्चा गर्दै सरकारले पूर्वाग्रह राख्नु निन्दनीय हो भने।
उनले ती दुवै अस्पताललाई संघ सरकारअन्तर्गत राखी प्रक्रिया अघि बढाउन कदम चालोस् भनी माग गरे। रासस