काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने बताएका छन्। कर्मचारी अभावले काम गर्न नसकिएको भन्दै विना कुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने उनले माग गरे।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेशहरूमा कर्मचारी अभाव हुँदा विकास निर्माणका काम अगाडि बढ्न नसकिरहेको गुनासो गरे। कर्णाली प्रदेशलाई तीन हजार देखि तीन हजार पाँचसय कर्मचारी आवश्यक रहेकोमा त्यसको पूर्तिका लागि ढिलासुस्ती उनको गुनासो छ।
कर्मचारी समायोजनपछि अधिकांश कर्मचारीले कर्णाली रोज्न नमानेको भन्दै कर्मचारी अभाव भोगिरहेको उनले सुनाए। कर्णालीमा जर्बजस्ती पठाइएको महशुश गर्ने गरेको भन्दै त्यसको मार प्रदेशले भोगेको उनको भनाई छ। उनले सरकार गठन भएको डेढ वर्ष पुग्दा प्रशासनिक संरचना पूरा गर्नमै अल्झनुपरेको बताए।
कर्णाली प्रदेशलाई केन्द्र सरकारले ९ अर्ब विकास बजेट मात्र विनियोजन गरेको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘कर्णाली प्रदेशजस्तो विकट क्षेत्रमा यति बजेटले पुग्दैन।’