काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग अनौपचारिक वार्ता भइरहेको बताएका छन्। अनौपचारिक वार्ता भइरहेको भए पनि विप्लवबाट औपचारिक वार्ताको कुरा नआउदा निष्कर्षमा पुग्न नसकिएको उनले सुनाए।
मंगलबार गृह मन्त्रालयमा आयोजित वार्षिक कार्यसम्पादन र भावी कार्यदिशाका सम्बन्धमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले भने, ‘अहिलेको शान्ति सुरक्षाको मुख्य चुनौती विप्लव समूह हो। उक्त समूहसँँग अनौपचारिक वार्ता त भइरहेका छन्। औपचारिक वार्ता भएर निष्कर्ष निष्किएपछि समस्या समाधान हुन्छ।’
उनले गृह मन्त्रालय शान्ति सुरक्षा कायम गर्न सफल रहेको दाबीसमेत गरे। नेपाल प्रहरी अपराध अनुसन्धानमा ९५ प्रतिशत सफल भएको दाबी गर्दै भने, ‘५ प्रतिशत घटनामा केही कारण सफल हुन सक्दैनौँ। त्यस लागि आलोचनात्मक रूपमा मात्रै लिनुहुँदैन। अनुसन्धानमा प्रहरीलाई सहयोग गर्नुपर्छ।’ उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा पनि स्थानीयको सहयोग नपाउँदा समस्या भएको गुनासो गरे।