जुम्ला - ‘विप्लव’ नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा युवा संगठनका कर्णाली ब्युरो ईन्चार्ज बखतबहादुर बिष्ट पनि रहेका छन्।
दुई जनालाई हिमा गाउँपालिकाको धाँचुगाउबाट सुतेकै अवस्थामा बिहान चार बजे नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक डिएसपी सिताराम रिजालले जानकारी दिए । सेक्रेटरी विर्ख बहादुर शाही र युवा नेता बिष्ट धाँचु गाउँमा आएको जानकारीका आधारमा जिप्रका जुम्लाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
स्थानीय तहमा तालाबन्दी गर्ने, धम्काउने जस्ता गतिविधि गरेपछि प्रहरीले आफ्नो निगरानी बढाएको थियो। अहिले उनीहरूका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कर्णालीमा विप्लवकै कारण सुरक्षा चुनौती बढ्दै गएको छ हुन सक्ने विभिन्न सम्भावित घटना हरुबाट बचाउन प्रहरीले विप्लवका गतिविधिलाई उच्च निगरानी राखेर पक्राउ गर्न सफल भएको प्रहीले जनाएको छ। सेक्रेटरी शाही लामो समयदेखि भूमिगत अवस्थामा थिए।
युवा अभियान सञ्चालन गर्न उनीहरू गाँउतिर झरेका हुन्। बिर्खबहादुर शाहीका परिवारले भने अपहरण शैलीमा पक्राउ गरेको भन्दै दुःख व्यक्त गरेको छ। यसअघि जुम्लाका ईन्चार्ज चन्द्रबीर तिरूवा रविकिरणलाई सिजा गाउँपालिकाको घोड्याङ्गा गाउँबाट प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो। यो समाचार कारोबार दैनिकमा छ।