बुटवल - नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७औं स्मृति दिवस बुटवलमा विभिन्न कार्यक्रम गरी मनाइयो। सो अवसरमा बुटवलको अमरपथस्थित बीपी चोकमा रहेको बीपीको शालिकमा माल्यार्पण र तिलोत्तमामा वृक्षरोपण कार्यक्रम गरियो।
नेपाली कांग्रेस बुटवल नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा कांग्रेस नेताहरूले बीपीको शालिकमा माल्यार्पण गर्दै पार्टीलाई बलियो बनाउन बीपीका बिचार र सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले मुलुकमा कम्युनिष्ट सरकारको अधिनायकवाद र स्वेच्छाचारी प्रवृत्ति बढ्दै गइरहेको अवस्थामा त्यसका विरुद्ध पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए। बीपीले देखाएको त्याग र निष्ठाको मार्गलाई नेता कार्यकर्ता सबैले अवलम्बन गर्न सके कांग्रेसलाई कसैले पछि पार्न नसक्ने उनको भनाइ थियो।
कार्यक्रममा सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति हरि लम्साल, महासमिति सदस्य बालकुमारी भण्डारी, नगरसभापति खेलराज पाण्डे, विमलराज भट्टराई, रामबहादुर कार्की, ज्योति भण्डारी, रमेश शाहीलगायतले बोलेका थिए। प्रजातन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गरेका विशेश्वर प्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भदौ २४ गते भएको थियो।