कालिकोट - नेत्रविक्रम चन्द विप्लव समूहका दुई नेता पक्राउ परेका छन्। हिमा गाउँपालिका– ७, धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका– २ कालीकोटका युवा सङ्गठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो।
जिल्ला सेक्रेटरी शाहीको घरबाटै दुवै जनालाई पक्राउ गरिएको इन्स्पेक्टर नवीन वलीले जानकारी दिए। सेक्रेटरी शाही र विष्ट धाँचुगाउँमा आएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर वलीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट चन्दा रसिद ३०, युवा सङ्गठन नेपालको लेटरप्याड चार, पर्चा पम्प्लेट १०३, सिमकार्ड एक, मोबाइल दुई र पुस्तक आठ थान बरामद गरेको छ।(रासस)