काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले नेपालको संसदीय ईतिहासमै अहिलेकोजस्तो कमजोर प्रतिपक्षी कहिल्यै नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई निकम्माको संज्ञा दिएका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीले भने, ‘मैले अहिलेकोजस्तो कमजोर प्रतिपक्षी दल कहिल्यै पनि देखेको थिएन। म त भन्छु प्रतिपक्षी दल निकम्मा भयो। कांग्रेससँग कुनै तर्क र आधार छैन्।’ उनले कांग्रेसले संसद अवरुद्ध गरेकोमा पनि आक्रोश पोखे। उनले भने, ‘तर्क, सर्क केही छैन बन्द भन्यो भैगयो। सत्तापक्षका सांसदले कुरा उठाएपछि मात्रै कांग्रेसले विरोध गर्छ।’ रायमाझीले तत्काल मन्त्रिमण्डलपनि पूनर्गठन नहुने जिकिर गरे।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर बिश्वकर्माले साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुख कृष्णबहादुर महराको भूमिकामा निर्भर पर्ने स्पष्ट पारेका छन्। उनले भने, ‘साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुखको भूमिकामा भर पर्छ। प्रतिनिधिसभाको नियमावाली छ। यसको व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ। सभामुखको भूमिका ढंगले चलेको छैन्। त्यही भएर बैठक स्थगित भएको हो। राष्ट्रियसभाका अध्यक्ष नियमावालीअनुसार चल्नुभएको छ। त्यही भएर बैठक चलिरहेको छ।’
सांसद विश्वकर्माले संसद बैठक स्थगन् गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे। उनले सभामुख महराको निर्णय क्षमतामा नै ह्रास आएको टिप्पणी गरे। सरकारले अहिले दिनैपिच्छे प्रतिपक्षी दललाई एउटा एउटा मुद्दा दिएको सुनाए। उनले भने, ‘सरकार एकपछि अर्को गरेर विवादमा फसेको छ। जनअपेक्षाअनुसार काम गर्न सकेको छैन्।’ विषादी प्रकरणमा वर्तमान कृषिमन्त्री चक्रपाणी खनालले देश र जनतालाई ढाँटेको उनको आरोप छ।
उनले सरकारका गलत कामका बारेमा कांग्रेसले सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्ने पनि बताए। नेता विश्वकर्माले सरकारले वितण्डा मच्चाईरहेको पनि आरोप लगाए। उनले भने, ‘आफूले गरेका गलत काम र वितण्डाको बारेमा जनताले थाहा पाउँछन् र नांगेझार भईन्छ भन्ने डरले सदन स्थगित गरिएको हो।’