काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्रको विवादलाई लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने तर्क गरेका छन्। लोकतान्त्रिक पार्टीमा कुनै विषयलाई लिएर गम्भीर बहस हुनुलाई अन्यथा रूपमा लिन नहुने प्रवक्ता शर्माको भनाइ छ।
नेपाली पब्लिकसँगको कुराकानीमा उनले भने, ‘जीवन्त पार्टीमा उठेका विषयका बारेमा पक्ष–विपक्ष भएर छलफल गरिएन भने त्यो ढुङ्गा हुन्छ भने त्यसैका बारेमा छलफल, बहस र घनिभूत विमर्श भयो भने त्यहाँ जीवन हुन्छ। त्यसैले हाम्रो पार्टीमा जे भइराखेको छ, यो एकदम जायज छ।’
पार्टीको अनुशासन र आचारसंहितासम्बन्धी महलमा प्रस्तावित प्रावधानलगायत विषयमा कांग्रेसका नेताहरू विभक्त भएका छन् नि भनेर सोधिएको प्रश्नको जवाफमा शर्माले भने, ‘उत्तर कोरियामा कुनै पनि विषयमा छलफल हुँदैन। त्यहाँ शासकले जे भन्छ, त्यही हुन्छ।’ उनले अगाडि भने, ‘पार्टीको केन्द्रीय समिति बैठकमा अनेक थरीका विचार र विषयहरू आउँछन्। ती विचार र विषयलाई बहसमा लिने काम हुन्छ। त्यसपछि सबैभन्दा उचित लागेको विषयलाई संस्थागत गर्ने काममा पार्टी अघि बढ्छ।’
पार्टीभित्रका विवादलाई लिएर कांग्रेस कमजोर नबन्ने प्रवक्ता शर्माको धारणा छ। उनले भने, ‘पार्टीभित्रको बहस लोकतान्त्रिक अभ्यास पनि हो। मैले अघि पनि भनेँ, उत्तर कोरियामा जीवनका बारेमा, अधिकारका बारेमा कुनै छलफल हुँदैन। त्यहाँ रोजगार नभएर, अधिकार नपाएर मानिस उकुसमुकुस छन्। अर्कोतिर दक्षिण कोरियाले विश्वलाई रोजगारी दिइरहेको छ। त्यहाँ लोकतन्त्र छ। लोकतान्त्रिक शासन प्रणाली भएका देश र पार्टीमा विवाद हुन्छ। छलफलका माध्यमबाट त्यसको समाधान गरिन्छ।’
‘पार्टी नेतृत्वले विधानको अक्षरशः पालना गर्नुपर्छ’
नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलले पार्टी नेतृत्व विधानविपरीत चल्न खोज्दा स्वाभिमान कार्यकर्ता चुप लागेर नबस्ने चेतावनी दिएका छन्। उनले भने, ‘कांग्रेस खुला वातावरण चाहने पार्टी हो। लोकतन्त्रको गरिमा बोकेको पार्टी हो। पार्टी नेतृत्व विधानअनुसार चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो। विधानविपरीत जान खोज्यो भने स्वाभिमानी कार्यकर्ता चुप बस्दैनन्। विरोध गर्छन्। स्पष्टै छ।’
बहुमत पुर्याएर संस्थापन पक्षले हाल प्रस्तावित गरेका प्रस्ताव पारित गरेको खण्डमा के गर्नु हुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘पार्टीको नेतृत्व त्यति मूर्ख छ जस्तो लाग्दैन। बचेखुचेको अस्तित्वसमेत धरापमा पारेर यस्तो निर्णय गर्न पुग्छ भन्ने लाग्दैन। छलफलकै क्रममा छ। अनुशासनको नाममा कार्यकर्ता र फरक मत राख्ने नेतालाई बाइपास गर्ने नेतृत्वको बुझाइ देखिन्छ। यो उहाँहरू (सभापति शेरबहादुर देउवा)कै लागि घातक सावित हुन्छ।’
प्रस्तावित नियमावलीको नियम २७ (च)मा ‘पार्टीको नीति, सिद्धान्तमा आघात पर्ने वा पार्टीको मान–प्रतिष्ठा र इज्जतमा आँच पुग्ने खालका सार्वजनिक अभिव्यक्ति दिए वा कुनै पनि माध्यमबाट लेख, रचना वा अन्य सामग्री प्रकाशित गरे अनुशासन उल्लंघनको कारबाही हुने’ व्यवस्था छ। उक्त प्रस्तावमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सशंकित छन्। आचारसंहिता र अनुशासनका नाममा विरोधी पक्षलाई तह लगाउन खोजिएको भन्दै उनीहरूले खुला रूपमा उक्त प्रस्तावको विरोध गर्दै आएका छन्।
सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षीय नेताहरू पार्टीलाई अनुशासनको डोरीमा बाँध्ने पक्षमा देख्छिन्। कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेको नियमावली मस्यौदा समितिले नेता तथा कार्यकर्तालाई अनुशासनमा ‘बाँध्ने’ गरी नियमावली प्रस्ताव गरेको छ।