काठमाडौँ, ४ माघ – नेपाली कांग्रेका पुराना त्यागी नेता केशव रेग्मीको निधन भएको छ।
कांग्रेस कास्कीका पूर्व सचिवसमेत रहेका उनको बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो। लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो।
पशुपति आर्यघाटमा आज बिहानै उनको अन्त्येष्टि गरिएको छ। यसअघि उनको पार्थिव शरीरमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
वि.सं २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य हुनुभएका उनले नेपाल विद्यार्थी सङ्घको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। स्व. रेग्मीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि पटकपटक गरी पाँच वर्ष जेलजीवन बिताएका थिए। स्व रेग्मीका दुई श्रीमती छन्।