काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (विप्लव)ले उपत्यका ब्युरो प्रमुख माइला लामालाई तत्काल रिहाइ गर्न माग गरेको छ। आफ्नो नाम उल्लेख नगर्ने सर्तमा हाम्रो सम्पर्कमा आएका उक्त पार्टीका एक नेताले उपत्यका ब्युरो प्रमुख माइला लामालाई राजनीतिक आस्थाका आधारमा पक्राउ गरिएको भन्दै रिहाइको माग गरे।
उनले भने, ‘यहाँ राजनीतिक आस्थाका आधारमा बन्दी बनाउने, ज्यान मार्ने काम हुँदैछ। सरकार वार्ताको नाममा गैरन्यायिक हत्या गर्ने काममा उद्यत रहेको छ। गृह प्रसाशन हाम्रो पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूलाई राजनीतिक आस्थाका आधारमा गिरफ्तार गर्ने, हत्या गर्ने, इन्काउन्टरको नाममा गोली हान्ने काम गरिरहेको छ। यो जस्तो गैरराजनीतिक र दमन अरू के हुन सक्छ ?’
माइला लामा उपत्यका ब्युरो प्रमुखको जिम्मेवारीमा रहेका नेता होइनन्? भनेर सोधेको प्रश्नको जवाफमा उनले भने, ‘पार्टीको नेता भएपछि कुनै न कुनै जिम्मेवारीमा रहन्छ नै। माइला लामा मात्रै होइनन्। तमाम कमरेडहरू जिउँदा शहीद हुनुहुन्छ। जनताको अधिकार र मुलुकको अवस्थाप्रति हाम्रो पार्टी चिन्तित छ।’
पार्टीका शक्तिशाली नेताहरू पक्राउ पर्दै जाँदा पार्टी कमजाेर बन्ने स्थिति बन्ला नि भनेर सोधिएको अर्को प्रश्नको उत्तरमा उनले भने, ‘यो हल्का र आधारहीन प्रश्न हो। एकीकृत जनक्रान्ति एउटा–दुईवटा नेताको गिरफ्तारीबाट विचलित हुने र कमजोर हुने हुँदैन। हाम्रो पार्टीले उठाएका जनताका सवाल र मुलुकप्रतिको इमानदारिताले फरक पार्छ।’
उनले अगाडि भने, ‘पार्टी भनेको संसदमा जस्तो टाउका गन्ने खेल होइन। यहाँ कति मानिसले परिवर्तन, जनताको मुक्ति, विदेशी थिचोमिचोको अन्त्य र राष्ट्रियता, स्वाभिमानको रक्षार्थ बलिदान दिन तयार हुन सक्छन्। माइला लामा मात्रै होइन, कमरेड सुदर्शन पनि जेलमा हुनुहुन्छ। अन्य धेरै कमरेड जेलमा हुनुहुन्छ।’
माइला लामा पक्राउ
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका उपत्यका ब्युरो प्रमुख माइला लामा पक्राउ परेका छन्। लामालाई विशेष सूचनाका आधारमा काठमाडौँको काँडाघारीबाट प्रहरीले आइतबार मध्यराति पक्राउ गरेको हो।
प्रहरीले विशेष सूचनाको आधारमा लामालाई काँडाधारीबाट राति साढे १२ बजेतिर पक्राउ गरिएको जनाएको छ। उनका अनुसार माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ। प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गरेको छ।