बुटवल – नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ अग्रसर भइरहेको दावी गरेका छन्। उनले सरकारको नेतृत्व ‘ज्ञानेन्द्रको पथ’मा अगाडि बढेकाले पतनको लागि धेरै समय नलाग्ने बताए।
शक्ति केन्द्रिकृतकै दुष्प्रयासका कारण जनताले पूर्वराजा ज्ञानेन्द्रको सत्ता ढालिदिएको स्मरण गर्दै उनले शक्ति केन्द्रिकृतमा लागिरहे ओलीतन्त्र पनि समाप्त भएर जाने दावी गरे। बीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको अयोजनामा शनिबार भएको ‘बीपी कोइराला र वर्तमान सन्र्दभ’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता खाँणले प्रधानमन्त्री ओली शक्तिको अत्यन्तै भोको रहेको र त्यसले उनलाई पतनको बाटोमा डोर्याएको उल्लेख गरे। ‘ओलीलाई प्रधानमन्त्रीमात्रै भएर पुगेन। राज्यका महत्वपूर्ण विभाग, अर्थ, गृह र अन्य विकास मन्त्रालयका अधिकार पनि सबै चाहिएको छ,’ नेता खाँणले भने, ‘ओलीले यसैगरी शक्ति केन्द्रीकृत गरिरहे र जनताका मौलिक हकहरु खोस्ने दुष्प्रयास जारी राखे ज्ञानेन्द्रकै नियति भोग्ने निश्चित छ।’
लोकतान्त्रिक शासन पद्दतिमा हुनुपर्ने जवाफदेहिता, पारदर्शिता र जिम्मेवारीपन अहिलेको सरकारमा नदेखिएको वर्तमान अवस्थामा बीपीका विचार र सिद्धान्तको सान्दभिर्कता झन् बढेको नेता खाँणले बताए। लोकतान्त्रिक शासन पद्दतिमै विश्वास नगर्ने कम्युनिष्टहरु सरकारमा रहेकाले नागरिकका हक अधिकारको रक्षाका लागि बीपीका सिद्धान्त र विचारलाइ आदर्श मान्नेहरु चनाखो हुनुपर्ने बेला आएको बताए।
इन्काउन्टरको नाममा सरकार व्यक्ति हत्याका घटनामा संलग्न भएको आरोप पनि उनले लगाए। कुमार पौडेल हत्याको प्रसंग उल्लेख गर्दै नेता खाँणले भने, ‘गिरफ्तार भएका व्यक्तिलाई हातखुट्टा भाँचेर मार्न पाइन्छ?’ यदि उनले गोली चलाएको हो भने हात भाँचिएका मान्छेले कसरी बन्दुक चलाए? यदि उनले फायरिङ गरे भनेर मान्ने हो भने पनि मारिएको व्यक्तिको हातखुट्टा किन भाँचियो त?’ व्यक्ति हत्या र हिंसाको विरुद्धमा रहेका बीपी कोइरालाका सिद्धान्तलाइ सबैले अँगाल्नु पर्नेमा उनले जोड दिए।
विश्वका कुनै पनि कम्युनिष्टहरुले जनताको सर्वोच्चतालाई नस्वीकार्ने उल्लेख गर्दै उनले ओली सरकारले पनि नागरिकलाई मालिक नभई सरकारको सेवकका रुपमा लिएको बताए ।