काठमाडौं, ४ माघ – नेपाली कांग्रेसनिकट भ्रातृ संगठन नेपाल तरूण दलले वर्तमान कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचारलगायतका गैरकानूनी र अलोकतान्त्रिक क्रियाकलापको विरोध कार्यक्रम देशव्यापी रूपमा आयोजना गर्दैछ।
यही ८ गते बाट नेपाल तरुण दलले आयोजना गर्ने उक्त विरोध कार्यक्रमका लागि नेपाली कांग्रेस केन्द्रिय कार्यालयले समन्वय र सहयोगको लागि सबै जिल्लालाई पत्र पठाएकाे छ।
पत्रमा अधिनायकवादी चरित्र, भ्रष्टाचारलगायत निर्मला पन्त हत्याकाण्ड विषय पनि उल्लेख गरिएको छ। देशका सात वटै प्रदेशमा हुने तरूण दलको विरोध प्रदर्शन कार्यक्रममा विरोध र्याली र विरोधसभा सम्पन्न गर्नका लागि आवश्यक समन्वय गर्नका लागि कांग्रेस केन्द्रिय कार्यदलले जिल्ला सभापतिलाई पत्र पठाएकाे हाे।
विरोध कार्यक्रमअन्तर्गत माघ ८ गते प्रदेश नम्बर १ को विराटनगर, ९ गते २ नं प्रदेशको जनकपुर, र १० गते प्रदेश नं ३ को हेटौडामा विरोधका कार्यक्रम हुने उल्लेख छ। त्यस्तै, ११ गते गण्डकी प्रदेशको पोखरा, १२ गते ५ नम्बर प्रदेशको वुटवल, १३ गते कर्णाली प्रदेशको सुर्खेत र १४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा विरोध प्रदर्शन हुने कार्यक्रम रहेको छ।
