काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेपालले अब द्वन्द्व धान्न नसक्ने बताउँदै सरकार र विप्लववीच यथाशक्य चाँडो वार्ता हुनुपर्नेमा जोड दिएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन्।
उनले अहिले मुलुकमा हतियार उठाउनुपर्ने कुनै आवश्यक नरहेको जिकिर गरे। उनले थपे ,‘जनता हिंसा चाहँदैनन्। हामी अब समाजवादी बाटोमा अघि बढिरहेका छौँ। त्यसैले लोकतान्त्रिक बाटो र शान्तिको विकल्प छैन्।’ ज्ञवालीले विप्लव नेकपाले समातेको बाटो नै गलत रहेको दाबी गरे।
जनसमाजवादी पार्टी, नेपालका अध्यक्ष सुवासराज काफ्लेले वर्तमान सरकारका कारण मुलुक समाजवादी गन्तव्यमा पुग्न नसक्ने दाबी गरे। उनले भने, ‘यो सरकारले मुलुकलाई समाजवादी बाटोतर्फ लैजान सक्दैन्। प्रधानमन्त्री ओलीले झुक्याउने र झुक्किने नाटक गर्नुभयो। अब हामीले टिभीमा सिरियल हेर्नुपर्दैन्।’ उनले सरकार र विप्लवबीच निःशर्त वार्ता हुनुपर्ने माग गरे।
कार्यक्रममा बरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका निवर्तमान अध्यक्ष बोर्ण बहादुर कार्कीले देश अहिले धेरै जटिल अवस्थामा रहेको सुनाए। उनले भने, ‘कतिवेला विष्फोटक हुन्छ थाहा छैन्। कुनैपनि बेला आन्तरिक गृहयुद्धमा फस्ने प्रूवल सम्भावना छ।’ उनले सरकारले विप्लवसँग वार्ताको नाटक गरिरहेको पनि आरोप लगाए। उनले भने, ‘सरकारले वार्ताको नाटक गरिरहेको छ। तर, सरकारले वार्ताको नाटक गरेर दमनको तयारी गरिरहेको छ। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले धाक दिएर हिजो भने अब विप्लवले आत्मसमर्पण गरेमात्रै वार्ता हुन्छ भनेर। यो त वार्ता नगर्ने नाटक हो।’
कार्कीले अहिलेपनि विप्लवका ७ सय सय नेता तथा कार्यकर्ता जेलमा रहेको सुनाए। उनले भने,‘विप्लवले हतियार उठाए मुलुकमा सशस्त्र द्धन्द्ध सुरु हुन्छ ।देशले गृहयुद्ध थाम्न सक्दैन्। तर, ओली सरकार मुलुकमा द्धन्द्ध चर्काउन चाहन्छ। दिनप्रतिदिन गैरजिम्मेवार बन्दै गएको छ।’