काठमाडौँ – नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको बताएका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै गजुरेलले यस्तो बताएका हुन्। उनले सरकार र विप्लवबीचको वार्तालाई लिएर नेपाली जनता अहिले असाध्यै द्धिविधमा रहेको पनि टिप्पणी गरे।
उनले भने, ‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ। दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरु आएका छन्। तर, जनता भने पुरै कन्फ्युजनमा छन्। साँच्चै वार्ता होला त भनेर?’ उनले भीडन्तहरु हुँदै गए देश आन्तरिक गृहयुद्धमा रुपान्तरण हुने खतरा औंल्याए। उनले भने, ‘अहिलेको परिस्थिति ल्याउनको लागि ओलीजीको सरकार जिम्मेवार छ।’
उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राखे हुन्छ भन्ने अभिव्यक्ति दिए। उनले भने, ‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैंगो नि। तर, विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन्। यो गलत छ।’
ओली सरकारले अहिले मुलुकमा फाँसीवाद लागु गरेको पनि उनले टिप्पणी गरे। उनले भने, ‘दुई तिहाई बहुमत भएको सरकारले चुनावको बेला गरेको नारा पनि पुरा गर्न सकेको छैन। जे–जे गर्छु भनेर चुनावको बेला बोलेको थियो, ठिक त्यसको उल्टो गरेको छ।’
उनले अहिलेको व्यवस्था, संविधान र सरकारमाथि नै प्रश्नचिन्ह खडा भएको सुनाए। उनले भने, ‘ओलीलाई पनि यही व्यवस्थाले प्रधानमन्त्री बनाएको हो। यो हाम्रो लागि दुर्भाग्य हो। त्यसैले सरकारविरुद्ध अब सशक्त जनआन्दोलनको आवश्यकत्ता छ।’