काठमाडौँ - राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का कारण अनाहकमा युवाले ज्यान गुमाइरहेको आरोप लगाएका छन्।
नेपाली पब्लिकसँगको कुराकानीमा उनले भने, ‘के कारण सरकार विप्लवमाथि जाइलागेको हो? अर्को कुरा, विप्लवका कार्यकर्ता आफैँले बोकेको बम पड्किएर मरिरहेका छन्। कतै इन्काउन्टरको नाममा ज्यान गुमाइरहेका छन्। मैले पहिले पनि भनेको थिएँ, यो सरकारले मारिदिन्छ, ज्यान बचाउ बाबु हो। विप्लवकाे अवस्था, वर्तमान शासक, सबै बुझेर नै मैले यस्ताे भनेको हुँ। न त सरकार संयमित छ, न त विप्लव माओवादी नै।’
समाचारमा आएजस्तो विप्लव माओवादी र सरकारबीच आधिकारिक रूपमा नभएर साधारण भेटघाट मात्रै भएको डा. केसीको भनाइ छ। उनले भने, ‘केही साक्षात्कार कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे र म सँगै बोल्ने अवसर प्राप्त भएको थियो। पाण्डेले विप्लवसँग आधिकारिक रूपले समाचारमा आएजस्तो गरी वार्ता नभएको स्पष्ट पारेका छन्। उनको कुरालाई आधार मान्ने हो भने यो सब हल्ला हो भन्न सकिन्छ।’
‘वार्ताको प्रपञ्च प्रक्रियावादी षडयन्त्र र हल्ला हो’ भनेर विप्लव माओवादीले स्पष्ट पार्नु र वार्ता टोलीका संयोजकले वार्ताको ठोस विन्दुमा नपुगेको बताउनुले जनतामा त्रास सिर्जना गरेको छ। यस सन्दर्भमा प्रा. डा. केसी भन्छन्, ‘जो जससँग सम्बन्ध छ, उनीहरू एकतिर छन्, समाचारहरूमा वार्ता भयो, हुँदैछ भन्दै अखबारहरूले चक्कर काटिरहेका छन्।’
केही समयपहिले डा. केसी र डा. सुन्दरमणि दीक्षितले नेकपा विप्लव लगायतका भूमिगत शक्तिहरूलाई सरकारले वार्तामा ल्याउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीलाई भेटेका थिए। डा. केसीले दिएको हालैको एक अन्तरवार्तामा नेपालका सबै राजनीतिक दलहरूले राजनीतिलाई व्यवसाय बनाएको आरोप लगाएका छन्।
उनले भनेका छन्, ‘जनतालाई शान्ति सुरक्षा चाहिएको छ। देशलाई विकास चाहिएको छ। तर, यहाँ राजनीतिका नाममा व्यापार गरिँदैछ। ‘सटरे’हरूलाई राजनीतिक रूपमा हेर्नु महाभूल हो।’