बुटवल, ३ माघ – नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउन माग गर्दै बिहीवार प्रदर्शन गरेको छ।
दिउँसो राजमार्ग चौराहबाट शुरू भएको जुलुस बजार परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो। प्रदर्शनमा हजारौँको सहभागिता रहेको थियो।
खबरदारी सभामा बोल्दै कांग्रेसका नेताहरूले ५ नम्बर प्रदेशको राजधानी बुटवलबाट दायाँ–बायाँ हुन नदिने दावी गरेका छन्। पूर्ववर्ती सरकारले तोकेका प्रदेश राजधानी उल्टाउन खोज सरकार नै उल्टाउने उनीहरुको चेतावनी छ। सभालाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा आउने प्रचार गरेपनि उनी आएनन्।
तस्वीरहरूः वीपी गाैतम/नेपाली पब्लिक
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका निर्णय प्रदेश सरकारले उल्टाउन खोज सबै क्षेत्रबाट सरकारलाई उल्टाउने चेतावनी दिए।
‘बुटवल सबै क्षेत्रबाट पायक पर्ने ठाउँ हो, राजधानीलाई मतान्तरको विषय नबनाऊ, स्थायी राजधानी बुटवललाई नै कायम गरौँ,’ नेता खाँणले भने, ‘मन्त्री र मुख्यमन्त्रीलाई झण्डा हल्लाउनका लागि बुटवल राजधानी बनाइएको होइन। लुम्बिनीसँग विश्वकै गुरूत्वाकर्षण भएकाले बुटवल रूपन्देही राजधानी तोकिएको हो। यसलाई अवमूल्यन गरेमा सरकार उल्टिन्छ, उल्टाउँछौं।’
यस्तै पार्टीका केन्द्रीय सदस्य चन्द्र भण्डारीले बनिसकेको राजधानी खोस्ने अधिकार कसैलाई नभएको बताएका छन्।

‘५ नम्बर प्रदेशका जनताले नजोगाएको भए, यो प्रदेश टुक्रिने थियो,’ भण्डारीले भने, ‘सबैलाई सन्तुष्ट बनाएर समान विकास गरौं। प्रदेश राजधानी बुटवल नै कायम हुनुपर्छ। स्थापित भइसकेको राजधानी र तलमाथि भए, सडकबाट सरकार फाल्न सबै जिल्लामा खबरदारीसभा गछौं। सरकारले हेक्का राखोस्।’
रूपन्देही सबै क्षेत्रबाट उपयुक्त रहेकोले अन्यत्र लैजाने कुरा सोच्न समेत नसकिने भण्डारीको भनाइ थियो।
पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री देवेन्द्रराज कँडेलले रूपन्देहीको राजधानी आँखा गाडेर अन्यत्र सार्ने षड्यन्त्र सरकारले गरेको जनाउँदै त्यो कुनै हालतमा पनि पूरा हुन नसक्ने चेतावनी दिए।

‘त्यसको विरूद्ध यस प्रदेशका जनता सचेत हुनुपर्छ। हामी खबरदारी गर्छौ। नभए सडक संघर्ष गछौँ,’ कँडेलले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई मजाक र मनोरञ्जनको साधन बनाएको आरोप लगाए।
खबरदारीसभामा प्रदेशससभा सदस्य तथा पाल्पा कांग्रेस सभापति वीरबहादुर राना, कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ, कांग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कान, कांग्रेस ५ नम्बर प्रदेश संसदीय दलका नेता बलदेश शर्मा पोखरेल, कांग्रेस सांसद वीरेन्द्र कनौडियाले कुनै पनि हालतमा प्रदेशको राजधानी सार्न नदिने बताए।

सभाप्रति पश्चिम क्षेत्रका प्रदेशसभा सांसद असन्तुष्ट छन्। पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी घोषणा गरेको १ वर्ष पुगेको अवसरमा खबरदारीसभा आयोजना गरिएको कांग्रेस रुपन्देहीले जनाएको छ।