काठमाडौँ - नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले ६० वर्ष उमेर पुगेका कर्मचारीलाई मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै नेता बडुले ६० वर्ष उमेर पुगेका कर्मचारी मात्रै पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
उनले ५८ वर्षमा पेन्सन पाउने सरकारको प्रस्ताव आफ्नो पार्टीले स्वीकार गर्न नसक्ने स्पष्ट पारे। समितिका सदस्य समेत रहेका नेता बडुले राष्ट्रको व्ययभारलाई कम गर्न पनि निजामती कर्मचारीको पेन्सन पाउने उमेर हद ६० वर्ष तोक्नुपर्ने बताए।
बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले निजामती कर्मचारीको पेन्सन वृद्धि गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराए। उनले काम नबढाउने तर सेवा र सुविधामात्रै कर्मचारीहरूलाई थप गरेर राष्ट्रको व्ययभार बढाउने पक्षमा आफू नरहेको स्पष्ट पारे।
विधेयकमा कर्मचारीको पेन्सन उसले पाएको तलवको ७५ प्रतिशत उपलब्ध गराउने प्रस्ताव गरिएको छ। उक्त प्रस्तावप्रति नेपाली कांग्रेस र नेकपाका नेता शर्माले आपत्ति रहेको छ।