काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डेले विप्लव समूहसँग अहिलेसम्म औपचारिक रुपमा वार्ता नभएको स्पष्ट पारेका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारको तर्फबाट आफूले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता तथा छलफल गरे पनि औपचारिक रुपमा वार्ता नभएको बताए। वर्तमान सरकारले मुलुकमा शान्ति, स्थायित्व चाहेको सुनाउँदै पाण्डेले भने, ‘सरकार द्वन्द्व चाहँदैन, हिंसा चाहँदैन। हामी त सुशासन र समृद्धि चाहन्छौं।’
उनी सरकारले ०७५ साल भदौ ०८ गते गठन गरेको उच्चस्तरीय वार्ता टोलीमा संयोजक थिए। ‘मैले धेरै सशस्त्र समूहसँग वार्ता गरेर उनीहरुलाई मूलधारमा ल्याएको छु। मेरो नेतृत्वको टोलीले विप्लवसँग मात्रै सहमति गर्न सकेको छैन। अहिले वार्ता समितिको म्याद सकिए पनि मैले वार्ताको पहल गरिरहेको छु।’
उनले आफूले विप्लव समूहका गुणराज लोहनीसँग सम्पर्क बढाएर वार्ता तथा संवादको पहल गरेको बताए। उनले भने, ‘अहिलेसम्म अनौपचारिक छलफल मात्र भएका छन्। हामी धेरै पटक छलफल तथा वार्तामा बस्यौँ। तर, अहिलेसम्म सार्थक हुन सकेको छैन।’
उनले सरकारले अहिले पनि विप्लवसँग वार्ताको ढोका खुला राखेको सुनाए। पाण्डेले भने, ‘वार्ताको विकल्प छैन भन्ने कुरामा सरकार पुगेको छ। विप्लव समूहका नेताहरु पनि वार्ताको लागि तयार हुनुहुन्छ।’ उनले अहिलेसम्म सरकारले लिखित रुपमा वार्ताको लागि पत्राचार नगरेको स्पष्ट पारे।