काठमाडौं, ९ माघ -कांग्रेस नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीसँग भएको सम्झौता अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।
चिकित्सा शिक्षा सुधारका लागि सरकारमा बस्ने, प्रतिपक्षमा बस्ने, हिजो सरकार चलाएका र भोलि सरकार चलाउँछु भन्ने सबैले गम्भीरतापूर्वक लिनुपर्ने थापाकाे भनाई थियाे।
९ दिनदेखि इलाममा अनसनरत डा. केसीकाे स्वास्थ्य अवस्था कमजोर भइसक्दा पनि सरकारले औपचारिक संवाद शुरु गर्न नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन्।
उनले भने ‘योभन्दा उदेक लाग्दो विषय के हुन्छ? केसी १६ औं पटक अनसन बस्दा हामीलाई लाज लाग्नुपर्ने हो। मलाई पनि लाज लाग्ने विषय हो। म लज्जाबोधका साथ यहाँ आएको छु।
‘केसीको स्वास्थ्य चिन्ताजनक छ। कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ। उहाँलाई केही भइहाले सरकार, मन्त्रीलाई मात्रै होइन सिंगो नेपालीलाई लाजको विषय हुन्छ,’ नेता थापाले भने, ‘लाजमात्र होइन, यति ठूलो घाउ र चोट हुन्छ त्यो कहिल्यै बिसेक हुँदैन।’
केसीका माग र चिकित्सा क्षेत्र सुधारका लागि प्रतिष्ठाको विषय नबनाई प्रधानमन्त्री ओलीले पहल कदमी लिनुपर्ने थापाले विचार व्यक्त गरे।