काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपतिको बेलामा संसद स्थगित गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका छन्।
संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएलगत्तै बाढीपहिरो प्रभावित जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कांग्रेस र सभामुख महराको आलोचना गरेका हुन्। उनीहरुले जनताको कुरा सार्वभौम संसदमा राख्न नदिएको भन्दै कांग्रेसको विरोध गरे। जनताको मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु खेदजनक भएको उनीहरुको टिप्पणी छ। उनीहरुले संसद स्थगित गरेकोमा आक्रोश पोख्दै त्यसको भत्सर्ना पनि गरे।
खोटाङबाट निर्वाचित नेकपाका सांसद विशाल भट्टराईले आफूहरूले जनताको दुःखको कुरा सार्वभौम संसदमा सुनाउन नपाएको गुनासो पोखे। उनले भने, ‘अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। सवारी आवातजावत अवरुद्ध छन्। जनताको आवासमा ठूलो क्षति पुगेको छ। तर, यस्तो प्राकृतिक विपतिको बेलामा पनि संसद स्थगित गरियो। हामी चाहन्थ्यौं संसदले यो संकटको निवारण गरोस भनेर। तर, कांग्रेसले विगतको घट्नाक्रमलाई हेरेर हठ देखायो। आयोग गठनको माग गरेर संसद अवरुद्ध गर्नु गलत हो।’
भट्टराईले सभामुख महाराको भूमिकाप्रति पनि आपत्ति जनाए। उनले भने, ‘सभामुखज्यूले संसद बैठक स्थगित गर्नुभयो। यसमा हाम्रो घोर आपत्ति छ। यो खेदजन्य कुरा हो। यथाशिघ्र बैठक बोलाउनुपर्छ। संसदलाई बन्धक बनाउनुहुँदैन्।’ उनले सबै दलहरुबीच सहमति र एकता कायम गरेर संसद सुचारु गर्नुपर्नेमा जोड दिए।
रौतहटबाट निर्वाचित नेकपाकी सांसद एवम् संघीय संसदीय समिति विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस्तो प्राकृतिक विपतिको घडीमा पनि संवेदनशीलता नदेखाएको आरोप लगाईन्। ‘यस्तो अवस्थामा देश राजनीतिक एजेण्डामा अल्झिनुहुँदैन थियो,’ खड्काले भनिन्, ‘अहिले त उद्धार तथा राहतमा जुट्नुपर्ने बेला हो। तर, हामीले संसदमा आफ्नो कुरा राख्न पाएनौं।’ उनले बाढि, पहिरोमा परि बेपत्ता भएकाहरुको तदारुकताका साथ खोजि हुनुपर्ने बताईन्।
ललितपुरबाट निर्वाचित नेकपाका सांसद नवराज सिलवालले संसद स्थगित गरिएकोमा आपत्ति जनाए। उनले भने, ‘मुलुक अहिले बाढि, पहिरो र डुवानबाट प्रताडित छ। सयौं घरहरु भत्किएका छन्। बाटाघाटाहरु अवरुद्ध छन्। यस्तो बेलामा संसद सुचारु गरेर गृह मन्त्रालयले आफ्नो कामहरु प्रस्तुत गर्नुपर्दथ्यो। हामीले पनि आफ्ना कुरा राख्न पाउनुपर्दथ्यो। तर, संसद बैठक स्थगित गरियो। यसमा हाम्रो घोर आपत्ति छ।’
उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अकर्मण्यताका कारणसंसद बैठक स्थगित भएको आरोप लगाए। उनले कांग्रेसले सानोतिना मुद्दामा अल्झिन नहुने सुझाव दिए। त्यस्तै, उनले सरकारले पनि उद्धार तथा राहतको कामलाई तदारुकताका साथ अघि बढाउन आग्रह गरे। उनले संसद तुरुन्त सुचारु गर्नपनि आग्रह गरे। बाढि, पहिरो र डुवानबाट प्रभावित बनेका २८ जिल्लामा नै सरकारले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेर पीडित जनालाई राहत दिन सिलवालले सुझाव दिए।
ओखलढुंगाबाट निर्वाचित नेकपाका सांसद यज्ञराज सुनुवारले संसद बैठक अवरुद्ध गरेकोमा गम्भिर आपत्ति जनाए। उदयपुरबाट निर्वाचित नेकपाका सांसद सुरेश राईले पनि राष्ट्रिय विपतिको यस्तो घडीमा संसद बैठक स्थगित हुनु दुःखदायी र खेदजनक भएको टिप्पणी गरे। उनले भने, ‘अहिले पनि पीडितहरुको अवस्था दयनीय छ। तर, कांग्रेसले संसद अवरुद्ध गरेर गलत चरित्र देखायो।’
सिरहाबाट निर्वाचित नेकपाका सांसद लिलानाथ श्रेष्ठले मुलुक अहिले राष्ट्रिय विपतिको अवस्थामा भएकोले यस्तो बेलामा सबै दलहरु एकजुट भएर उद्धार तथा राहतमा जुट्नुपर्ने बताए।