धनगढी - अदालतको आदेशमा रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक विद्यार्थी नेता पुनः पक्राउ परेका छन्। विद्यार्थी नेता बबरजंग सिंहलाई कैलाली प्रहरीले पुनः पक्राउ गरेको हो।
सर्वोच्च अदालतले प्रमाण नपुगेको भन्दै थुनामुक्त गर्न आदेश दिएपछि शुक्रबार उनलाई कैलाली जिल्ला अदालतले रिहा गरेको थियो। रिहापछि मोटरसाइकलमा जुगेडा पुगेका सिंहलाई मोटरसाइकलमार्फत पछ्याउँदै गएको प्रहरीले फेरि पक्राउ गरेको हो।
सिंहले भने आफूले कुनै किसिमको अपराध नगरेको दाबी गरेका छन्। उनले आफूले हिँडडुलसमेत गर्न नपाउने गरी आफूविरुद्ध प्रहरीले षडयन्त्र गरिरहेको आरोप लगाए। ‘यदि म दोषी छु भने मलाई कानूनको कठघरामा उभ्याइयोस्, म हाँसी–हाँसी सजाय स्वीकार्न तयार छु’, जिल्ला अदालत प्राङ्गणमा सिंहले पत्रकारसँग भने, ‘यद्यपि, अदालत/कारागारभित्रै भएको मान्छेलाई षडयन्त्रपूर्वक अर्को मुद्दा लगाइन्छ भने यो सरासर धोका हो, बेइमानी हो।’ वर्तमान सरकारले नाङ्गो नाच नाचिरहेको उनले आरोप लगाए।
यसअघि, सिंहलाई प्रहरीले वैशाख २७ गते धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा माध्यमिक विद्यालयबाट पक्राउ गरेको थियो। पक्राउ परेका सिंहमाथि प्रहरीले राजद्रोह अपराध र फौजदारी उपद्रव मुद्दा चलाएको थियो। तर, उनका परिवारजनले लगाइएको मुद्दाविरुद्ध जेठ ३ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट दायर गरेका थिए। जेठ ८ गते सर्वोच्चले उपस्थित हुन आदेश जारी गर्यो। तर, जिल्ला अदालत कैलालीले जेठ १५ गते फौजदारी उपद्रव मुद्दाअन्तर्गत २ लाख र राजद्रोह अपराध मुद्दाअन्तर्गत ३ लाख गरी ५ लाख रुपैयाँको धरौटी माग गर्ने फैसला सुनायो।
धरौटी बुझाउन नसक्दा उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। सर्वोच्च अदालतले असार २७ गते शुक्रबार अर्को आदेश जारी गर्दै सिंहलाई थुनामुक्त गर्न आदेश गरेको जिल्ला कारागार कैलालीले जनाएको छ। सोही आदेशबमोजिम उनलाई रिहा गरेको अदालतले जानकारी दिएको छ। प्रमाण नपुगेको भन्दै लगाइएको मुद्दा खारेज गर्दै सर्वोच्चले सिंहलाई थुुनामुक्त गर्न कैलाली जिल्लालाई पत्राचार गरेको थियो।