विराटनगर - राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको भए पनि देशी विदेशी तत्वको उक्साहटमा सडक आन्दोलन गरेर सरकारलाई असफल गराउने प्रयासले मुलुकमा थप द्वन्द्व निम्तिने खतरा रहेको धारणा व्यक्त गरेका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष थापाले जनताले ५ वर्षको ‘म्याण्डेट’ दिएर पठाएको सरकारलाई गैरसंवैधानिक र सडक आन्दोलनबाट हटाउन खोज्नु गलत हुने टिप्पणी गरे ।
उनले सरकारलाई सचेत गराउन सडक आन्दोलन गर्न सकिने र ५ वर्षपछि जनताको म्याण्डेटबाट मात्र सरकारलाई विस्थापित गर्नुपर्ने बताए ।
एक प्रश्नको जवाफमा अध्यक्ष थापाले हिंसाको माध्यमबाट कुनै पनि राजनीतिक दल सफल हुन नसकेको नेपालकै उदाहरणलाई आत्मसात गर्दै विप्लव समूहलाई हतियार त्यागेर वार्तामा आउन आग्रह गरे । उनले सरकारले विप्लव समूहलाई राजनीतिक शक्तिको रूपमा मान्यता दिएर प्रतिबन्ध हटाउन पनि आग्रह गरे ।
अध्यक्ष थापाले भारतबाट आयातित तरकारी र फलफूलको विषादी रोक्ने सरकारी निर्णय स्वागतयोग्य रहेको भए पनि फिर्ता लिएकोप्रति दुःख व्यक्त गरे । उनले प्रधानमन्त्रीलाई समेत बाइपास गर्ने कार्य मुलुककै लागि अहित रहेकाले तत्काल भारतीय पत्र लुकाउनेहरूलाई कारवाही गर्न प्रधानमन्त्रीसँग आग्रह गरे।