नारायणपुर, ३ माघ - नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले सम्पूर्ण आयोजनालाई पार्टीकरण तथा नेताकरण गर्न खोजेको आरोप लगाएका छन्।
कांग्रेस सरकारको नेतृत्वमा शुरु भएका आयोजनासमेत वर्तमान सरकारले आफ्नो पार्टीको नेताका नामबाट नामकरण गरेको उनको आरोप थियो। दाङको घोराहीमा सञ्चारकर्मीहरूसँगको कुरकानीमा नेता महतले विगतको सरकारले शुरु गरेका अधिकांश आयोजना अहिले अलपत्र अवस्थामा रहेको बताए।
“विगतको सरकारले देशभर १२/१३ हजार सानाठूला आयोजना शुरु गरेको थियो। ती आयोजना अहिले अलपत्र अवस्थामा छन्”, नेता महतले भने, “विकास बजेट कसरी खर्च हुन्छ भन्ने कुरा आयोजनाको काम शुरु भएपछि बजेट खर्च देखिने हो। विकास ठप्प छ, सरकारले कि पुराना आयोजनाको काम नै हुँदैन भन्नुपर्याे होइन भने स्थानीय सरकारलाई ती आयोजनाको जिम्मा लगाउनुपर्यो।”
नेता महतले अहिले संविधान कार्यान्वयनमा समेत समस्या देखिएको भन्दै नयाँ लगानीकर्ता निराश अवस्थामा रहेको बताए। “सरकारले भाषणमा नयाँ लगानीकर्तालाई प्रवर्द्धन गर्ने योजना बनाएको छ भन्ने सुनिन्थ्यो, तर अहिले निजीक्षेत्र भागाभागको अवस्थामा छ, निराश छ,” नेता महतले भने, “सरकारले निजीक्षेत्रको लगानीलाई प्रोत्साहन गर्नैपर्छ।”
उनले वाइडबडी विमान प्रकरणमा पार्टीका सभापति संलग्न रहेको कुरा सञ्चारमाध्यममा आएजस्तो सत्य नभएको जिकिर गरे। नेता महतले छानबिन समितिको अध्ययन र अदालतको प्रक्रियाले पुष्टि गर्नेसमेत बताए।