बुटवल - नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले महासंघले सञ्चारसम्बन्धी विधेयकको विरोधमा शुरू गरेको आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरिएको बताएका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको ‘संघीयतामा पत्रकारिताको महत्व र भूमिका’ विषयक अभिमुखीकरण तालिमको उद्घाटन गर्दै उनले त्यस्तो जानकारी दिएका हुन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलले सञ्चारसम्बन्धी विधेयकमा प्रेस स्वतन्त्रताको विरोधमा भएका विषय हटाउने र सरोकारवालाहरूसँग छलफल गर्ने लिखित सहमति गरेकाले तत्कालका लागि सडक आन्दोलन स्थगित गरिएको बताए।
उनले भने– ‘आन्दोलन फिर्ता गरिएको होइन, तेस्रो चरणको सडक आन्दोलन स्थगित गरिएको हो। प्रेस स्वतन्त्रताको पक्षमा र सञ्चारसम्बन्धी बिभिन्न बिधेयकमाथि छलफल दबाबलगायतका कार्यक्रम जारी रहन्छन्।’
कार्यक्रममा संस्थापक सभापति बाल नरसिह गुरुङले रुपन्देहीमा पत्रकारको क्षमतामा वृद्वि भइरहेको र नयाँ तथा पुरानोका लागि गरिएको अभिमुखीकरण प्रभावकारी हुने बताए। त्यस्तै, नेपाल प्रेस युनियनका सल्लाहकार हरि लम्सालले मुलुक संघीयतामा गएपछि पत्रकारहरूको भूमिका पनि बदलिएकाले पत्रकारहरूले सक्रिय भई पत्रकारिता गर्नुपर्ने बताए।