काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन्। प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ।
दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन्। यसबाट सरकारविरुद्ध यी दुई दल मिलेर अघि बढ्ने बलियो संकेत मिलेको छ।
कांग्रेसका शीर्ष नेताहरूसँग भेटघाट भएको राजपा अध्यक्ष मण्डलका संयोजक अनील झाले स्वीकारे। उनले भने, ‘भेटघाटमा लोकतन्त्र, लोकतान्त्रिक मूल्य र मान्यता जोगाउन मिलेर अघि बढ्नुपर्छ भन्ने कुरा भएको छ।’
साझा मुद्दा बनाएर अघि बढ्ने विषयमा दुवै पार्टी सकारात्मक भएको जानकारी दिँदै उनले भने, ‘एकदुई दिनमा थप कुराकानी हुन्छ। त्यसबेला न्यूनतम साझा अजेन्डा तय गर्नेछौं।’ यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।