सुर्खेत – सुर्खेत प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको गस्ती टोलीले वीरेन्द्रनगर– ११, पिपिराबाट विप्लवको युवा संगठन भेरी कर्णाली ब्यूरो सदस्य तथा रेड युथ फोर्सको अध्यक्ष (हिमशिखर) भनिने शिखर पहाडीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रदीपबहादुर क्षेत्रीले शंकास्पद तरिकाले घुमिरहेका पहाडीलाई चेकजाँच गर्दा प्रहरीसँग वादविवाद गरेपछि निजलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि थप अनुसन्धान शुरु गरिएको जानकारी दिए। उनका अनुसार पक्राउ परेका ३४ वर्षीय पहाडी पश्चिम सुर्खेतको चौकुने गाउँपालिका– ९ निवासी हुन्।