बुटवल - प्रदेश ५ को केन्द्रका रूपमा विकास हुँदै गएको बुटवलमा कम्युनिष्ट संग्रहालय स्थापना भएको छ। नेपाल कम्युनिष्ट पार्टी (मसाल) को पहलमा स्थापना भएको उक्त संग्रहालय एशियाकै पहिलो भनेर दाबी गरिएको छ।
उक्त संग्रहालय विश्वबाट लोप हुँदै गएको आरोप लागेको कम्युनिष्टहरूको ऐतिहासिक महत्वका सामग्री संग्रह गर्ने गरी स्थापना गरिएको हो। विश्व कम्युनिष्ट आन्दोलनको ऐतिहासिक महत्वलाई थप उजागर गर्दै भावी कम्युनिष्ट आन्दोलनलाई टेवा पुर्याउने गरी कम्युनिष्ट संग्रहालय स्थापना गरिएको कम्युनिष्ट पार्टीका अगुवा नेता मोहनविक्रम सिंह बताउँछन्।
‘विश्वमा कम्युनिष्ट विचारधाराको आफ्नै अस्तित्व भए पनि कम्युनिष्ट संग्रहालय कतै छैन,’ उनले भने–‘नेताहरूका नाममा विश्वमा संग्रहालयहरू छन्, तर यस प्रकारको कम्युनिष्ट संग्रहालय अन्य देशमा पनि नभएको पाइएको छ।’
के के छन् संग्रहालयमा ?
बुटवलमा स्थापना गरिएको कम्युनिष्ट संग्रहालयमा विश्व कम्युनिष्ट आन्दोलनबारे अध्ययन गर्न सकिने पुस्तकहरू छन्। त्यति मात्र होइन अध्ययन तथा अनुसन्धान गर्न सकिने गरी संग्रहालयको परिकल्पनासमेत गरिएको छ।
उक्त संग्रहालय विश्वकै कम्युनिष्टका लागि उपयोगी हुने कम्युनिष्ट नेता सिंहको भनाइ छ। संग्रहालयका योजनाकारसमेत रहेका नेता सिंहका अनुसार यसलाई विश्व कम्युनिष्ट आन्दोलनको झल्को दिने गरी पूर्ण संग्रहालय बनाइनेछ।

संग्रहालयमा विश्व कम्युनिष्ट आन्दोलनसँग जोडिएका पुस्तकहरू, कम्युनिष्टसँग सम्बन्धित पुस्तक, लेख रचना, विभिन्न समयका दस्तावेजहरू, कम्युनिष्ट घोषणापत्र, कम्युनिष्ट आन्दोलन र कम्युनिष्टबारे बनाइएका डकुमेन्ट्री, विभिन्न कम्युनिष्ट पार्टीका घोषणापत्रहरू राखिनेछ। त्यसका लागि अहिले सूचीकरण गर्ने काम भइरहेको छ।
स्वदेशी तथा विदेशी पाठक एवं शोधकर्ताहरूलाई अवलोकन, अध्ययन तथा अनुसन्धानको अवसर प्रदान गर्ने संग्रहालयको अर्को उद्देश्य रहेको छ। कम्युनिष्ट आन्दोलनलाई थप बल पुगोस् भन्ने उद्देश्यले कम्युनिष्ट संग्रहालय स्थापना गरिएको संग्रहालयका नवनिर्वाचित अध्यक्ष चेतनाथ आचार्य बताउँछन्।