धनगढी - सुदूरपश्चिम प्रदेश सरकारको बजेटमाथि सत्तारुढ दलकै सांसदहरूको असन्तुष्टि बढेको छ। सत्तारुढ दल नेकपाका सांसदहरूले आफ्नै सांसदलाई बेवास्ता गरे सरकार धेरै दिन टिक्न नसक्ने चेतावनी दिएका हुन्।
प्रदेशसभा बैठकमा अगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिएका नेकपाका सांसद महेश जोशीले आफ्नै पार्टीका सांसदहरूको उपेक्षा गर्न थालेकाले सरकार धेरै दिन नटिक्ने बताए। मुख्य मन्त्रीलाई संयुक्त हस्ताक्षर बुझाएका सत्तारुढ दलकै २५ जना प्रदेश सभा सदस्यलाई बेवास्ता गरे सरकार धेरै दिन टिक्न नसक्ने चेतावनी पनि उनले दिए। उनले प्रतिपक्षी दलका सांसदसँग भएको भद्र सहमति गोप्य राख्नुको कारण मागे। प्रतिपक्षी दल र सरकारबीच भएको भनिएको भद्र सहमतिलाई लक्षित गर्दैै जोशीले पहिला आफ्नो घर बलियो बनाएर त्यसपछि छिमेकीसँग सल्लाह गर्न आग्रह गरे।
प्रदेश सरकारले असार १ गते ल्याएको बजेट असन्तुलित रहेको भन्दै विरोध गर्दै २२ दिनसम्म संसद चल्न नदिएको प्रतिपक्षी दलसँग सहमति भएपछि आइतबारदेखि प्रदेशसभा बैठक सञ्चालन भएको थियो। सत्तारुढ दलकै सचेतक अक्कलबहादुर रावलले पनि सरकारले ल्याएको बजेट सन्तुलित नभएको बताए। उनले सरकारमा बसेका पात्रहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट राख्ने प्रवृत्ति नौलो नभएको भन्दै यसलाई तोड्नुपर्ने बताए।
बजेट आएदेखि नै त्यसमा असन्तुष्टि जनाइरहेका प्रतिपक्षी दलका सांसदले सरकारले आफूहरूसँग गरेका सम्झौता कार्यान्वयनमा जोड दिएका छन्। बजेटमाथिको छलफलका क्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले मनगढन्ते बजेट ल्याएको बताए। विगतमा ल्याएका आफ्नै योजना पनि सरकारले बिर्सिँदै गएको आरोप लगाउँदै उनले बजेटले नीतिगत भ्रष्टाचारसमेत मौलाउने वातावरण बनाएको दाबी गरे ।
प्रतिपक्षी सांसदहरूले सांसदका भन्दा बढी मन्त्रीको क्षेत्रमा र मन्त्रीका भन्दा उनीहरूका आसेपासे कार्यकर्ताका क्षेत्रमा झन् बढी बजेट गएको आरोप लगाए। आजको बैठकमा प्रदेश सभाका १० जना सदस्यले आ–आफ्नो धारणा राखेका थिए।