काठमाडौँ - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का नेता नरबहादुर कार्कीले आफ्ना पार्टीका कार्यकर्तालाई सरकारले इन्काउण्टरको नाममा अकारण हत्या गरिहेको आरोप लगाएका छन्।
उनले सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेखेर अकारण पार्टीका कार्यकर्ताले ज्यान गुमाउनु परेको बताएका हुन्। नेता कार्कीले सरकारलाई लक्षित गर्दै इमान्दार बन्न आग्रहसमेत गरेका छन्।
उनले भनेका छन्, ‘एउटा अकारण गरिएको हत्याले हजार बन्दुकका नाल तेर्सिन्छन, सत्ताको दायित्व बोध देखिएन।’ पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको प्रहरीले इन्काउण्टरमा मारिएको भनेर भ्रम फैलाएको दाबी नेकपाको छ। मंगलबार बसेको संसदको बैठकमा गृहमन्त्री रामबहादुर थापाले कुमार पौडेलको बारेमा दिएको जानकारी चित्तबुझ्दो नभएको भन्दै कांग्रेस र राजपाका सांसदले संसद अवरुद्ध गरेका थिए।
नेता कार्कीले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘शान्ति, समुन्नती र प्रगतिको पक्षमा इमान्दार पहल नलिने हो भने देश लादिएको युद्दमा जाने कुरामा दुबिधा छैन। एउटा अकारण गरिएको हत्याले हजार बन्दुकका नाल तेर्सिन्छन, सत्ताको दायित्व बोध देखिएन। संवाद र सम्यमताको संस्कार देखिएन। युद्द चाहनेहरूलाई प्रहरी र पार्टी कार्यकर्ता मारिएको खबर बेच्नु जरुरी होला। तर, जनतालाई युद्द होइन, रुपान्तरण चाहिएको छ।’
यो पनि पढ्नुहोस्