काठमाडाैँ - प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्ने विषयमा सहमति नजुटेपछि बैठक बुधबार १ बजेसम्मका लागि स्थगन गरिएको छ। संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले एक सूचनामार्फत आज १५ मिनेटपछि बस्ने गरी स्थगित बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले अर्को मिति तय भएको जानकारी दिए।
त्यसअघि संघीय संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ नेकपा, नेपाली कांग्रेसलगायत दलका प्रमुख सचेतकसँग सभामुख महराले छलफल गरेका थिए। छलफलमा कुनै सहमति नभएपछि बैठक स्थगन भएको हो। प्रमुख प्रतिपक्षी, राजपालगायतले सर्लाहीका बालक अनुप रायको पोखरीमा परेर डुबेको घटना र सो घटनालाई लिएर न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले गोली चलाएको तथा कुमार पौडेलको मुठभेडमा निधनलगायत विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो घटनाका बारेमा सदनलाई जानकारी दिएका थिए। गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै कांग्रेस र राजपाका सांसदले नाराबाजी गरेका कारण बैठक स्थगन भएको हाे। रासस